-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बिहीबार ८ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सेवासुविधा प्रदान गर्ने भन्दै लाइसेन्स दिएतापनि प्राविधिक पूर्वाधार तयार गरेको छैन भने   यसका जटिल पक्षको समाधान ननिकाली हचुवाको भरमा अगाडि बढ्न खोजेको देखिएको छ । 

ब्रोकर अफिसका लागि ब्याकअफिस सिस्टम बनाईरहेको सोर्स कोड प्रालिका सीइओ अभिजित श्रेष्ठका अनुसार शुक्रबार ५० नम्बर ब्रोकर कम्पनीमा सिस्टम जडान गरिने र करिब एकहप्ता मक गरेर परीक्षण सफल भइसकेपछि मात्रै लाइभमा जाने तयारी छ । त्यसपछि अन्य लाइसेन्स पाएका ब्रोकरहरुमा सिस्टम जडान गरिने उनले जानकारी दिए । 

यसर्थ नेप्सेले गत मंगलबार नेप्से कार्यालयमै डेमो हेरे पनि सिस्टमको पूर्ण परीक्षण नै नगरी हचुवा तालमा लाइसेन्स दिएको देखिन्छ । 

मार्जिन कारोबारमा हुने सेयर कसको खातामा रहने भनेर अलमलमै परिरहेको नेप्सेले मार्जिन कारोबार सुविधा कार्यविधी संसोधन नै नगरी लाइसेन्स वितरण गरेको हो । 

यस विषयमा बिजशालाले नेप्से प्रमुख चन्द्रसिह साउदको धारणा बुझ्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

गत शनिबार एक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले ब्रोकरहरुले मार्जिन कारोबारमा भएका  धितोपत्र आफ्नो पूल अकाउन्टमा हुनुपर्ने अड्डी कसिरहेका र यसले लगानीकर्ताहरुको सुरक्षा नहुने भएकाले बोर्ड मान्न तयार नभएको जिकिर गरेका थिए । 

सोही कार्यक्रममा एक पत्रकारले हाल ब्रोकरहरुबाट बिना ब्याज १ महिनासम्म खरिद गरेको सेयरको रकम भुक्तानी गर्ने परिपाटी नरहेकाले समेत मार्जिन कारोबारको सुविधा लगानीकर्ताहरुलाई खर्चिलो हुने दाबी गरे।

टप फाइभभित्र पर्ने एक ब्रोकरलाई मार्जिन कारोबार अनुमतिका लागि किन अनिच्छा देखाउनु भएको ? भन्ने जिज्ञासामा उनले भने–‘हामीहरूले पैसा ल्याउने भनेकै वाणिज्य बैंकहरुबाट हो, अहिले तरलताको अभाव चर्किदै गएको छ, त्यसमा सेवाशुल्क समेत जोड्दा महङ्गो पर्न जान्छ । बजार घटिरहेकोले समेत लगानीकर्ताहरुमा मार्जिनको आकर्षण कम रहन्छ, त्यसमाथि नेप्सेले तोकेको ३३ वटा कम्पनी मात्रै ।’ 

‘अर्कातिर  लगानीकर्ता संघका नेताहरु, संस्थागत लगानीकर्ता र अन्य सर्वसाधारण लगानीकर्ताले नै हाम्रो ओडी पैसा १ महिना बढीसम्म ब्याज नतिरी चलाइरहेका छन । हामीलाई सेयर क्लोज आउट पर्ला र कारोबार निलम्बन पर्ने भयले समेत हाम्रो पैसा रित्तिदै गएको छ्।’ उनले थपे–‘पैसाको जोहो गर्नै मुश्किल छ ।’