काठमाण्डौ । सेयर बजारमा प्यानिक गिरावट भइरहेको छ । ब्याजदर क्रमशः घट्दै गएको र केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमाको विषयमा हालै पुनरावलोकन गरे पनि त्यसले बजारमा खासै प्रभाव पार्न सकेन । बरु केन्द्रीय बैंकले संसोधित एकीकृत निर्देशन ल्याएपछि बजार लगातार घटिरहेको छ । 

चालु आर्थिक वर्षको सुरुवातदेखिको केही तस्विर हेर्ने हो भने अत्यासलाग्दो देखिन्छ । यो अवधिमा लगानीकर्ताले २ खर्ब ७९ अर्ब सम्पत्ति गुमाइसकेका छन् भने नेप्से परिसूचक पनि २८० अंकले घटेर १८६४ अंकमा सीमित बनिसकेको छ । बजारमा प्यानिक अवस्था देखिँदा र लगानीकर्ताहरुको मनोबल निकै कमजोर हुँदा समेत नियामक र सरोकारवाला गम्भीर देखिएका छैनन् । 

केही अघिसम्म केन्द्रीय बैंक र गर्भर महाप्रसाद अधिकारीका कारण बजारमा तीव्र गिरावट आएको दाबी गर्ने लगानीकर्ताहरु पछिल्ला दिनहरुमा भने फरक ढंगले प्रस्तुत भइरहेका छन् । दोश्रो बजार ध्वस्त पार्ने गरी धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई पनि आँखा चिम्लिएर मागेजति हकप्रद निश्कासन गर्न दिएपछि र कवाडी कम्पनीहरुलाई समेत अनुचित प्रभावमा परेर धमाधम प्रिमियममा आइपीओ निश्कासन गर्न दिएपछि लगानीकर्ता आक्रोशित बनेका छन् । उनीहरुले दैनिकजसो सामाजिक सञ्जाल लगायतका सञ्चारमाध्यमबाट रमेश हमालको भ्रष्ट प्रवृतिको तीव्र विरोध गरिरहेका छन् । 

हमालकै गलत नीतिका कारण बजारमा सेयरको अचाक्ली आपूर्ति भएको र सोअनुसार माग सिर्जना गर्नेतर्फ ध्यान नदिंदा समस्या थप विकराल बनेको लगानीकर्ताहरुको भनाई छ । 

यो क्रममा विभिन्न माध्यमहरुबाट धितोपत्र बोर्डको गलत नीतिको साधारण लगानीकर्ताले मात्र विरोध गरिरहेका छन् । सेयर बजारका समस्याका विषयमा बेला बेला नियामक र सरोकारवालालाई झकझक्याउँदै आएका लगानीकर्ताका पुराना संगठनका नेता भने लगानीकर्तामा रुवाबासी चलिरहँदा समेत रहस्यमय मौनता साँधेर बसिरहेका छन् । 

कतिपयले ती नेताहरुले रमेश हमाललाई नायक भन्दै प्रशंसा गरेका, तर उनको नीति अहिले खुंखार खलनायकको जस्तो प्रमाणित भएपछि अहिले लाजले विरोध नगरेका हुनसक्ने समेत दाबी गर्दै आएका छन् । कतिपयले त पुराना संगठनका नेतालाई हमालका झोले, चम्चेसम्म भन्न भ्याएका छन् । 

सामाजिक सञ्जालमा सेयर लगानीकर्ताका पुराना संगठनका नेताहरुको भूमिकाको तीव्र अपेक्षा भइरहेको बेला उनीहरु निदाएजस्तो देखिएका छन् । यहीबेला सेयर लगानीकर्ताको पक्षमा काम गर्ने भन्दै खुलेका नयाँ संगठन भने जागेका छन् । उनीहरुले एकपछि अर्को गर्दै विभिन्न माग राखी कहिले आन्दोलन त कहिले ज्ञापनपत्र बुझाइरहेका छन् । 

यही क्रममा सेयर लगानीकर्ताको नयाँ संगठनको रुपमा रहे पनि पछिल्लो समय सक्रिय देखिएको नेपाल सेयरधनीसंघले १४ बुँदे माग राख्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । 

अध्यक्ष घनश्याम पाण्डेले हस्ताक्षर गरेका ज्ञापनपत्रमा प्रिमियममा आइपीओ निश्कासनको कार्य तत्काल बन्द गर्नुपर्ने, सेयरको माग बढाउने नीतिगत कार्यहरु गर्नुपर्ने, सेयर धितो कर्जामा लागेको सीमा हटाउन पहल हुनुपर्ने, त्यस्तो कर्जामा रहेको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्न केन्द्रीय बैंकसँग छलफल गर्नुपर्ने, नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई हकप्रद निश्कासनमा निरुत्साहित गर्नुपर्ने, पूँजीबजारमा लगानी गर्ने उद्देश्यले खोलिएका म्युचुअल फण्डहरुले सोही प्रयोजनमा मात्र लगानी गर्न पाउने स्पष्ट व्यवस्था हुनुपर्ने, कुनै पनि कम्पनीले सेयर निश्कासन गर्दा आरक्षण कोटा राख्ने व्यवस्था खारेज हुनुपर्ने  लगायतका माग समेटिएका छन् । 

ज्ञापनपत्र यस्तो छः