काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम अवस्थामा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेमा सामान्य गिरावट भए पनि कारोबार रकमतर्फ भने उछाल आएको छ । 

यो दिन नेप्से परिसूचक १.०८ अंकले घटे पनि कारोबार रकम १ अर्ब १३ करोडको उचाईमा पुगेको छ । 

आकर्षक लाभांश वितरणको घोषणा गर्न लागेको हल्ला बजारमा फैलिँदा नेपाल लाइफ इन्स्योरेन्सले मात्रै १४ करोड ८६ लाख बढीको कारोबार गर्यो । 

अर्थमन्त्रीबाट गठित मुद्रा तथा पूँजीबजारको समस्या पहिचान र सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनले तीव्रता पाएसँगै बुधबारदेखि बजार बढ्न सुरु गरेको थियो । बुधबार उच्च अंकले बढेको बजार बिहीबार समेत कारोबार खुलेलगत्तै उछालकै गतिमा दौडिएको थियो । बजार निरन्तर बढिरहँदा यही मौकामा सेयर बेचेर प्रफिट बुक गर्नेहरु सलबलाउँदा अन्तिम अवस्थामा बजारमा झिनो गिरावट आएको हो । 

यो दिन कारोबार रकममा उछाल आएका कारण नेप्सेको झिनो गिरावटले खासै ठूलो अर्थ राख्दैन । धेरै दिनपछि कारोबार रकम १ अर्ब १३ करोडको हाराहारीमा पुग्नुले लगानीकर्ताको मनोबल उच्च बनेको र पर्ख र हेरको रणनीतिमा रहेकाहरु समेत बजार प्रवेश गर्न थालेको प्रष्ट हुन्छ । 

यो दिन जीवन बिमा समूहको सूचकमा १७०.४२ अंकको उछाल आएको छ । उत्पादनमूलक समूहमा १९.१८ अंक तथा अन्य समूहमा ११.४६ अंकको वृद्धि भयो। 

बाँकी सबै समूहको सूचकमा झिनो गिरावट देखियो । 

अन्तिम समयमा गिरावट व्यहोरेका समूहमध्ये बैंकिंग समूह ६.६६ अंकले घट्यो भने विकास बैंक समूहमा ५.२९, बित्त समूहमा २.२१, होटल समूहमा ६३.६३,  व्यापार समूहमा २.९६, जलविद्युत समूहमा ४.२९, निर्जीवन बिमा समूहमा ४८.६७ र माइक्रोफाइनान्स समूहमा २.६५ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७४ कम्पनीका २८ लाख ७२ हजार ५ सय ५१ कित्ता सेयर १ अर्ब १२ करोड ९९ लाख ६९ हजार २ सय ९ रुपैयाँमा कारोबार भयो । 

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १४ करोड ८६ लाख बढीको कारोबार गर्यो । यसैगरी, नेपाल बैंकले ८ करोड २६ लाख, ग्लोबल आइएमई बैंकले ५ करोड ३६ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ३१ लाख, एनसीसी बैंकले ३ करोड २ लाख, नेको इन्स्योरेन्सले २ करोड ७६ लाख, प्रभू बैंकले २ करोड ६० लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ४८ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड ३६ लाख र सानिमा बैंकले २ करोड ३० लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नागरिक लगानीकोषका लगानीकर्ताले धेरै कमाउ । यो कम्पनीको सेयर मूल्य ९.०३ प्रतिशतले वृद्धि भयो । 

महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ८.१६ प्रतिशतले सम्पत्ति बढाए ।

यो दिन सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमका इकाईधनीले धेरै गुमाए । यो स्किमको इकाई मूल्यमा ६.६६ प्रतिशतको गिरावट आयो ।