काठमाण्डौ । लगातार ओरालो लागेको पूँजीबजार बुधबार हराभरा भएको छ । बिमा कम्पनीतर्फ लगानीकर्ता थुप्रिएपछि सोही समूहले बजार कब्जा गर्यो । अन्य समूह परिसूचकमा पनि हरियो पोतियो, तर बिमाका लगानीकर्ताले बुधबार कुस्त कमाए । 

बजार परिसूचक करिब ३ प्रतिशत अर्थात ४८.७६ अंकले वृद्धि भई १७३०.६२ अंकको उचाईमा फर्किएको हो । 

बुधबार सबैभन्दा धेरै एकैदिन बिमा समूहको परिसूचक बुल भयो । यो समूहको सूचक करिब ७ प्रतिशतले बढ्यो । एकैदिन ५५६.६२ अंकले बढेर बिमा समूहको सूचक ८६१४.४२ अंकमा पुगेको हो । 

अन्य समूहमध्ये दुई बाहेक सबैमा दोहोरो अंकको बढोत्तरी देखियो । होटल समूह ८९.५४ अंकले बढ्दा वाणिज्य बैंक समूहमा समेत ३९.७६ अंकको वृद्धि देखियो । विकास बैंक र बित्त समूह क्रमशः ३८.१७ र १०.४५ अंकले उक्लिए । जलविद्युत समूह ४७.६६ अंकले वृद्धि हुँदा उत्पादन मूलक र अन्य समूहमा क्रमशः ६.८२ र ९.२५ अंकको बढोत्तरी देखियो । 

'क' वर्गका कम्पनीहरुको कारोबार बढेका कारण सेन्सेटिभ इण्डेक्स पनि एकै दिन १०.६९ अंकले वृद्धि भयो । फ्लोट इण्डेक्स ३.४४ अंकले उक्लियो । 

बुधबार कारोबार रकममा पनि सुधार भएको छ । १ सय ४२ कम्पनीका कुल ११ लाख १३ हजार १ सय ६५ कित्ता सेयर १ अर्ब २ करोड ३२ लाखमा किनबेच भयो । विगत केही दिनदेखि नेप्सेको दैनिक कारोबार १ अर्बको उचाईमा  पुग्न सकेको थिएन । 

धेरै कारोबार गर्नेहरु
बुधबार सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्सको १० करोड ५७ लाखको सेयर किनबेच भयो । यसैगरी, नेपाल बंगलादेश बैंकले ४ करोड ९४ लाख, सिद्धार्थ डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ४९ लाख, नेको इन्स्योरेन्सले ३ करोड ६२ लाख, एनएलजी इन्स्योरेन्सले ३ करोड १४ लाख, एभरेष्ट बैंकले३ करोड १२ लाखको कारोबार गरे । प्रभू इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स पनि क्रमशः ३ करोड १२ लाख र २ करोड ८३ लाखको कारोबार गर्दै धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा उक्लिन सफल भए । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा समूहले कब्जा गर्न सफल भयो । अरु बेला लगातार बर्चश्व कायम गरिरहेको वाणिज्य बैंक ३ स्थान र विकास बैंक एक स्थानमा सीमित बन्न पुग्यो । 

मालामाल भए बिमाका लगानीकर्ता !
बुधबार बिमा कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । ९ वटा बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । यूनाइटेड इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, एनएलजी, प्रभू इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, एभरेष्ट इन्स्योेरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, सगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा क्रमशः ९.९९, ९.९८, ९.९८ र ९.९७ प्रतिशतले वृद्धि भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । 

बिमाका लगानीकर्ताले कुस्त कमाउँदा कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतले सम्पत्ति गुमाउनुपरेको छ । यसैगरी, ओमी फाइनान्स, यूनाइटेड फाइनान्स, पोखरा फाइनान्सको सेयर मूल्यमा पहिरो गएको छ ।