काठमाण्डौ । पूँजीबजारको पहिरो सोमबार केही घटेको छ । आइतबार उच्च अंकले पहिरो गएको बजारमा सोमबार भने ८.१२ अंकले मात्र गिरावट आयो । नेप्से परिसूचकको घट्दो क्रम केही घटेजस्तो देखिए पनि कारोबार रकममा भने कमी आएको छ, यसको अर्थ बजारलाई कारोबार रकमले समेत साथ छाड्दै गएको देखिन्छ । विश्लेषकहरु नेप्से परिसूचकको गिरावट यात्रासँगै कारोबार पनि कम हुँदै जानुुलाई बजारको अशुुभ संकेतको रुपमा लिन्छन्, सोमबार यस्तै संकेत देखिएको हो । 

सुनियोजित रुपमा चलाइएको हल्लाका कारण बजारमा निरन्तर पहिरो गइरहेको देखिन्छ । बाम एकतालाई कतिपयले दोष दिंदै त्यसकै हाउगुजी देखाइदिंदा साना र सामान्य लगानीकर्ता त्रसित बनेका छन् । अर्कातिर बजारमा सुनियोजित रुपमा मूल्य घटाएर राम्रा कम्पनीको सेयर उठाउने र धेरै नाफा सुरक्षित गर्ने गिरोहको खेल जारी नै छ । केही ठूला लगानीकर्ता चाहि चाडपर्वको ह्यांगओभर बाँकी नै रहेकोले केही समय पर्ख र हेरको अवस्थामा छन् । बैंक तथा बित्तीय संस्थाहरुमा पूँजीवृद्धिको अन्तिम चटारोका कारण हकप्रदमा पैसा हाल्नुपर्ने लगानीको बाध्यताले समेत बजार घट्न सहयोग गरिरहेको केही विश्लेषक बताउँछन् । वर्तमान अवस्थामा सेयरको अधिक आपूर्ति बाहेक बजार घट्नैपर्ने ठोस र स्पष्ट कारण भने छैन । बजारमा गिरावट यात्राको पछाडि सानातिना कारण जे जे भए पनि चलखेल र बजारलाई आफू अनुुकुल प्रयोग गर्ने गिरोहहरुको बोलवाला नै मुख्य कारण रहेको जानकार बताउँछन् । 

के-के भयो सोमबार ?
नेप्से परिसूचक ८.१२ अंकले घटेर १५०१.८९ अंकमा झर्यो भने कारोबार रकम घटेर ३१ करोड ६८ लाखमा सीमित बन्न पुुग्यो । यो दिन अन्य समूहमा ४.९२ अंकको बढोत्तरी भयो भने बाँकी सबै समूहमा रातो पोतियो । 

बैंक तथा बित्तीय संस्थासँग सम्बन्धित समूहको पहिरो केही थमौति भयो । बैकिंग समूह ९ अंक, विकास बैंक समूह १२.६३ अंक, बित्त समूह ८.१४, बिमा समूह ४७.२७ अंकले घटेको छ । यस्तै, होटल समूहमा १.६ अंक, टेडिंग समूह ३.०४, जलविद्युत समूह ६.२९ अंकले घटेको छ । 

यो दिन 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.५३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १५२ कम्पनीका ६ लाख ४३ हजार ५ कित्ता ३१ करोड ६८ लाख ६ हजार ७ सय ५८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले २ करोड बढीको कारोबार गर्यो । यस्तै, चिलिमे हाइडोपावरले १ करोड ४५ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ३९ लाख, नेपाल लाइफले १ करोड २० लाख बढीको कारोबार गरे । एभरेष्ट बैंकले ८६ लाख, नबील बैंकले ८३ लाख, एनबी बैंकले ७६ लाख, कृषि विकास बैंकले ७५ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको स्रचिमा ७  स्थान वाणिज्य बैंकले कब्जा गरे । एक स्थान बिमा कम्पनी, एकस्थान विकास बैंक र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी लक्ष्मी भ्यालुु फण्ड-१ ले कमायो । यो म्युुचुुअल फण्डको इकाई मूल्य ४ प्रतिशतले बढ्यो । किसान माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य पनि ४ प्रतिशतको हाराहारीमा बढ्यो । 

सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले गुमाए । यो कम्पनीको मूल्य ५.६१ प्रतिशतले घट्यो । आरएमडिसी लघुवित्तको मूल्यमा ५.२३ प्रतिशतको गिरावट देखियो ।