काठमाण्डौ । साताको दोश्रो दिन सोमबार बजार बढेको छ । कारोबार अवधिभरि नागबेली चालमा कुदेको बजार ९.५५ अंकले बढी १२४१.१९ विन्दूमा फर्किएको हो । 

कारोबार सुरु भएको केही समयसम्म घटिरहेको बजार बीचको समयमा एकाएक बढेर निकै माथि पुगेको थियो । तर, फेरि करेक्सन हुँदै बन्द हुँदासम्म ९.५५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको हो । 

घट्ने क्रममा रहेको बजार एकाएक बढ्नुमा विशेष गरी २ वटा कारण देखिएको छ । एउटा कारण हल्ला हो भने अर्को चाहि यथार्थ । नेपाल राष्टबैंकले आगामी मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा खुकुलो बनाउने हल्ला बजारमा चलेपछि यसले घट्दो क्रममा रहेको बजारमा एकाएक दोहोरो अंकको वृद्धि गराइदिएको थियो । तर, यो बिषय हल्ला मात्र रहेको बुझेपछि उत्साहित लगानीकर्ता समेत थन्किएका थिए । 

यस्तै, यो दिन बैंक तथा बित्तीय संस्थाहरुमा तरलताको समस्या हटेको र अवस्था सहज रहेको खबरले समेत केही काम गरेको देखिन्छ । तरलता सहज भएपछि सेयर धितोकर्जा समेत सहज पाइने आशाले कतिपयले खरीदारी बढाएका छन् । 

योसँगै नेपाल राष्ट्रबैंकले ब्याजदर नियन्त्रणका लागि कडा नीति अपनाउनसक्ने खबरहरुले समेत लगानीकर्ताको मनोबलमा केही मल्हम लगाएको अनुमान गर्न सकिन्छ । ब्याजदरमा कडाई गरिएसँगै सुहाउँदो दरमा सेयर कर्जा पाइने भएपछि कतिपय चूप बसेकाहरु समेत सलबलाएका हुनसक्छन् ।

बजारका लागि केही सकारात्मक परिवर्तनका संकेत देखिए पनि करको अन्यौलले अझै लगानीकर्तालाई छाडेको छैन । यसले समेत बजार अपेक्षित बढ्न नसकेको हो । 

यिनै कारणहरुले यो दिन ‘क’ वर्गका कम्पनीमा खरीद चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६७ अंकको बढोत्तरी भएको छ । 

यो दिन विकास बैंक, फाइनान्स र व्यापार समूहमा झिनो गिरावट आयो भने बाँकी सबै समूह हराभरा भए । विकास बैंक समूह २.८३ अंकले घट्यो भने बित्त समूह र व्यापार समूह क्रमशः ३.७१ र २.९६ अंकले घटे । 

यस्तै, यो दिन बिमा समूह १०२.८ अंकले बढ्यो भने बैंकिंग, माइक्रोफाइनान्स, होटल र जलविद्युत समूहमा क्रमशः ६.३, २२.८९, ६०.६७ र ५.६४ अंकको बढोत्तरी भयो । उत्पादनमूलक समूहमा ७.३१ अंकको वृद्धि देखियो भने अन्य समूह ३.४८ अंकले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७० कम्पनीका ११ लाख ७६ हजार ४ सय ९१ कित्ता सेयर ४३ करोड ६८ लाख ८६ हजार ८ सय २९ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नवील बैंकको ३ करोड ८५ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

यसैगरी, सिभिल बैंकले १ करोड ७३ लाख बढीको कारोबार गर्यो भने नेपाल बैंकले १ करोड ५० लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ३७ लाख बढीको कारोबार गरे । मुक्तिनाथ विकास बैंकको १ करोड ३४ लाख बढीको सेयर कारोबार भएको बजारमा साना किसान विकास बैंकले १ करोड २६ लाख, एभरेष्ट बैंकले १ करोड ११ लाख बढीको कारोबार गरे । इन्भेष्टमेन्ट बैंकको १ करोड ११ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा मेगा बैंकले १ करोड ५ लाख र नेपाल टेलिकमले ९१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्स र नेपाल हाइडो डेभलपर्स लिमीटेडका सेयरधनी मालामाल भए । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । मिथिला लघुवित्तको मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन एभरेष्ट बैंकको कन्भर्टेड प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा धेरै घट्यो । सेयर मूल्यमा ९.२१ प्रतिशतको गिरावट भयो ।