काठमाण्डौ । सेयर बजारमा आज पनि नेपाल टेलिकम कम्पनी (एनटीसी)को सेयरमूल्यमा तीव्र चलखेल भएको पाइएको छ। 

खासगरी ब्रोकर नं. ४५ बाट एनटीसीको सेयरमूल्यमा तीव्र चलखेल भएको पाइएको हो। कारोबारको अन्तिम समयतिर प्रतिकित्ता ९४० रुपैयाँमा कारोबार भएको नेपाल टेलिकमको सेयर एकैपटक ७१ रुपैयाँ घटाएर ८६९ रुपैयाँमा कारोबार भएको देखिन्छ। 

यस हिसाबले सेयरमूल्य एकैपटक साढे ७ प्रतिशतले घटाउने काम भएको छ। तर, धितोपत्र नियमावलीअनुसार कुनै पनि कम्पनीको सेयरमूल्य एकपटकको कारोबारमा २ प्रतिशतभन्दा तलमाथि गर्न पाइँदैन। 

यसबाट टीएमएसको एमकेटी अप्सनको दुरुपयोग गरेर हाई क्याप भएको नेपाल टेलिकमको सेयरमूल्य चलखेल गरेर बजारलाई नियन्त्रणमा लिन खोजेको प्रस्टै देखिन्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा)

यो पहिलो घटना भने होइन। यस्ता घटना थुप्रैपटक हुँदै आएका छन्। पटक–पटक यस्ता घटनाहरु उजागर हुँदा पनि नियामक निकायहरु भने मौन बस्दै आएका छन्।