-निलम बोहोरा
हाईड्रो क्षेत्रका कम्पनीहरुको सेयरको मूल्य बढ्ने क्रम तीब्र बन्दै गर्दा अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई कतिपयले हेलाँको दृष्टिले हेरेको पाईन्छ । वास्तवमा अरुण भ्याली हाईड्रोको क्षेत्रमा हिरा नै हो भन्ने कुरा तथ्यले प्रमाणित गर्छ । 

तीन मेगावाटको आयोजना त हो नि ? भन्दै अरुण भ्यालीलाई हेयको दृष्टिले हेर्नेहरुले उसले काबेली बी १ को २५ मेगावाट र क्यास्केट ९.९४ गरी ३५ मेगावाटको आयोजनामा गरेको ३० प्रतिशत सेयर लगानी र धारण गरेको अन्य कम्पनीका अर्बौको सेयरबारे ध्यान पुर्याउन सकेका छैनन् । 

सन् २००३ मा संखुवासभाको पिलुवा खोलामा तीन मेगावाटको आयोजना पूरा गरेर ब्यवसायिक उत्पादन थालेको कम्पनीले अहिले क्यास्केटसहित ३५ मेगावाटको अरुण काबेली हाईड्रोमा ३० प्रतिशत हिस्सा कायम गरेर आगामी बर्षहरुमा उल्लेखनीय आम्दानीको स्रोत जोहो गरिसकेको छ । 

२०७८ साल असोज १ गतेदेखि ९.९४ मेगावाटको काबेली बी १ क्यास्केट योजना चालु भएपछि अरुण भ्यालीको नाफामा उच्च बृद्धि भई त्यसको लाभ सिधै अरुण भ्यालीले प्राप्त गर्नेछ । 

२३ औं बार्षिक साधारण सभामा प्रस्तुत प्रतिबेदन अनुसार अरुण काबेलीमा अरुण भ्यालीको २७ करोड ७० लाख ३६ हजार रुपैयाँको परल मूल्यमा सेयर लगानी छ । त्यसको आजको सेयर मूल्यमा हिसाब गर्दा ६० करोडभन्दा बढी हुन आउँछ । 

अरु १६ वटा कम्पनीमा समेत भएको लगानीको परल मूल्य हिसाब गर्दा ४२ करोड ६७ लाखको आजको मूल्य तीन अर्ब भन्दा बढी हुने देखिन्छ । 

त्यस्तै अपर काबेली, काबेली बी १ क्यास्केट र अरु आयोजनाहरुमा गरिएको प्रत्यक्ष लगानीको २० करोडले कम्पनीको अबस्थालाई अरु सवल देखाउँछ । 

झण्डै एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड हुँदा गत बर्षको नाफाबाट कम्पनीले ५ प्रतिशत बोनस सेयर वितरण गरेको छ र ५० प्रतिशत हकप्रद बिक्रीका लागि साधारणसभाबाट प्रस्ताब पारित गराई धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गर्ने प्रक्रियामा पुगेको छ । १११ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ भन्दा बढी छ र आगामी दिनहरुमा त्यो उल्लेखनीय रुपमा बढेर जाने प्रसस्त आधारहरु छन् । 

सेयर मूल्य प्रतिकित्ता २१९ रुपैयाँको भाउ हुँदा मूल्य आम्दानी अनुपातको हिसाबले पनि साढे १६ गुणा हुन्छ, जुन धेरै महंगो हैन ।
(लेखक लगानीकर्ता हुन् । यो कम्पनीको विषयमा उनले राखेको तर्क उनका निजी हुन् ।)