काठमाण्डौ । नेपाल उद्योग परिसंघको सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ। 

परिसंघले आज विज्ञप्ति जारी गर्दै यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको हो। श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको स्पष्ट पारेको छ। ‘अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो छ’, विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरुको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी–व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन्।’ 

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने विज्ञप्तिमा जनाइएको छ। ‘विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याई अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघ अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।