काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ। 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निष्कासन गर्न लागेको सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँबराबरको आईपीओलाई इक्रा नेपालले आईआर ‘बीबीबी’ रेटिङ प्रदान गरेको हो। यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको र बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्य रहेको भन्ने संकेत गर्दछ। 

यो बैंकले गत पुस १० गते नेपाल धितोपत्र बोर्डबाट कुल ८ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ। यो बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ। बैंकमा ६० प्रतिशत हिस्सेदारी संस्थापक सेयरधनीको हुनेछ। जसअनुसार १२ करोड कित्ता सेयर संस्थापक समूहको रहनेछ। सार्वजनिक निष्कासनपछि बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

यो आईपीओ माघको पहिलो सातादेखि निष्कासन गर्ने तयारी भइरहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ। यो आईपीओमा सबै आवेदकलाई सेयर हाता पर्ने भएकाले आम सर्वसाधारणमाझ निकै बहुप्रतिक्षित र कौतुहलको विषय बनिरहेको छ।