काठमाण्डौ । गत आर्थिक वर्षका लागि हालसम्म १६ वटा म्युचुअल फन्डहरुले प्रतिफल घोषणा गरेका छन्। 

तीमध्ये ११ वटाले ३० प्रतिशदेखि ५० प्रतिशतसम्म प्रतिफल घोषणा गरेका छन् भने ५ वटाले ५ देखि २५ प्रतिशतसम्म प्रतिफल घोषणा गरेका छन्।

सबैभन्दा धेरै प्रतिफल घोषणा गर्नेमा एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईबिएल प्रगति फन्ड, एनआईबिएल सहभागिता फन्ड र सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड छन्। यी ३ वटै योजनाले ५० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेका छन्।

यसैगरी सीबीआईएल क्यापिटल मार्केट्सको व्यवस्थापनमा सञ्चालित २ योजना सिजिन्स म्युचुअल फन्ड १ र फन्ड २ दुवैले ४०/४० प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्ड र एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ ले समान ३५/३५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेका छन्।

यसैगरी ३० प्रतिशत प्रतिफल घोषणा गर्नेमा ५ वटा म्युचुअल फन्ड छन्। जसमा एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्ड फन्ड, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एनएमबि ५० रहेका छन्।

यस्तै लक्ष्मी इक्विटी फन्डले २५ प्रतिशत, एनएमबि हाईब्रिड फन्ड–१ ले २० प्रतिशत र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेका छन्।

हालसम्म घोषित प्रतिफलमा कुमारी इक्विटी फन्डको सबैभन्दा कम देखिएको छ। यो फन्डअन्तर्गतका इकाइधनीहरुका लागि ५ प्रतिशतमात्र नगद लाभांश (करसहित) घोषणा गरिएको छ।