काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ४.७७ प्रतिशतले घटेर ४ करोड ६८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ९१ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी १ अर्ब ६४ करोड रहेको कम्पनीको रिजर्भमा १ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड ७० लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १००.७१ रुपैयाँ रहेको छ। 

नेसनल हाइड्रोपावरले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म चुक्तापुँजीको ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो। कम्पनीले ८२ करोड २१ दलाख रुपैयाँबराबरको हकप्रद बिक्री गरेको थियो। 

कम्पनीले यो हकप्रदबाट प्राप्त रकम ३ वटा जलविद्युत आयोजनामा लगानी गर्नेछ। जसअनुसार कम्पनीले लोआर इखुवा हाइड्रोपावर कम्पनी (१४.१५ मे.वा. क्षमताको तल्लो इखुवा जलविद्युत आयोजना)मा १२ करोड २७ लाख रुपैयाँ, तल्लो इन्द्रावती जलविद्युत आयोजना (४.५ मे.वा.)मा ५६ करोड १७ लाख रुपैयाँ र इन्द्रावती तेस्रो जलविद्युत आयोजना (७.५ मे.वा.)मा १३ करोड ७७ लाख रुपैयाँ लगानी गर्नेछ।