काठमाण्डौ । इलाममा जलविद्युत आयोजना निर्माण गरिरहेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका ७८ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि जारी हुनेछ । कसका लागि कति कित्ता निश्कासन हुने भन्ने बिषय बताइएको छैन । 

कुल ७८ करोड मूल्यको आइपीओ निश्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक बनाएको छ । लक्ष्मी क्यापिटल र हिमाल दोखला हाइड्रोपावर कम्पनीबीच आइपीओ निश्कासनमा बिक्री प्रबन्धक नियुक्तिको बिषयमा एक सम्झौता भएको छ । 

बुुधबार कम्पनीको तर्फबाट अनन्त कार्की र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका लक्ष्मी क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो जलविद्युत कम्पनीले इलामको गोदक गाविसमा ४.५ मेगावाटको माईखोला साना जलविद्युत आयोजना निर्माण गरी संचालनमा ल्याइसकेको छ । इलाममै ८ मेगावाट क्षमताको माई साना क्यास्केड आयोजना निर्माण गरिरहेको छ, यो पनि आगामी एक महिनाभित्रमा निर्माण सम्पन्न भई संचालनमा आउने बताइएको छ ।