काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । पहिलो दिन असार १ गते यो कम्पनीको आइपीओमा माग भन्दा ३ गुणा बढी आवेदन परेको हो ।

यो कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेकोमा पहिलो दिन ६० करोड ३४ लाख बढीको आवेदन परेको हो ।

बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार देशभरबाट १० हजार २ सय ३० को हाराहारीमा आवेदन परेका छन् ।

परम्परागत प्रणालीबाट ४ हजार ५ सय ३१ आवेदकले १९ करोड १६ लाख बढीको प्रस्ताव पेश गरेका छन् भने आस्वा प्रणालीबाट ५ हजार ६ सय ८१ आवेदकले ४१ करोड १८ लाख बढीको प्रस्ताव पेश गरेका छन् ।

आस्वामा असार ५ गतेसम्म आवेदन दिनुपर्ने समय छ । पहिलो दिन नै यति धेरै अचाक्ली आवेदन परेको हिसाब र पछिल्ला दिनहरुमा अझ बढी पर्ने भएकाले यो कम्पनीको आइपीओले रेकर्ड ब्रेक गर्ने संकेत देखिएको छ ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो कम्पनीको आइपीओ पुरानै विधि अनुसार हुनेछ । यसको अर्थ कुल निश्कासितमध्ये ४० प्रतिशत  ५० हजारसम्मको प्रस्ताव पेश गर्ने खुद्रा लगानीकर्ताका लागि र ५० हजार भन्दा माथिको लगानी प्रस्ताव गर्नेहरुलाई ६० प्रतिशत सेयर छुट्याइएको छ । तर, संस्थागत लगानीकर्ताले भने यो आइपीओमा आवेदन दिन पाउने छैनन् ।

यो जलविद्युत कम्पनीले ४२ हजार ६ सय १७ कित्ता आफ्ना कर्मचारीका लागि र १ लाख ६ हजार ५ सय ४२ कित्ता सेयर १० वटा म्युचुअल फण्डहरुका लागि छुट्याएको छ । यसरी सर्वसाधारणका लागि भने १९ लाख ८१ हजार ६ सय ७५ कित्ता छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, काठमाण्डौ क्यापिटल, ग्लोबल आइएमई बैंकका शाखा तथा आस्वा सेवा संचालनको अनुमित पाएका बैंक तथा बित्तीय संस्थाहरुको जुनसुकै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको चुक्तापुँजी ८५ करोड २३ लाख रुपैयाँ रहेको छ । आइपीओपछि १ अर्ब ६ करोडको उचाईमा पुग्नेछ । यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीमा संस्थापक आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणहरुको सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीका आधारभूत अवस्था सन्तोषजनक छैन भन्ने हो । हिमालयन पावर पार्टनर लिमीटेडले लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।