काठमाण्डौ । हिमालयन हाइड्रो एक्स्पो–२०२२ को तेस्रो संस्करण आउँदो चैत तेस्रो साता हुने भएको छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्सो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यो एक्स्पो हुनेछ। एक्स्पो चैत १८ गतेदेखि चैत २० गतेसम्म काठमाण्डौको भृकुटीमण्डलमा हुनेछ।

एक्स्पोमा नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाई कमिसन कन्ट्री पार्टनर रहनेछन्।

एक्स्पोबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने आयोजकको अपेक्षा छ। हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन, नेपालको जलविद्युतका लागि बजार प्रवर्द्धन गर्न, देशभित्रै विद्युत खपत बढाउन, विद्युत व्यापारको प्रवर्द्ध गर्न तथा हाइड्रोपावरसम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला गरी ज्ञान, सीप तथा प्रविधिबारे जानकारी दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको छ। 

तीन दिनसम्म एक्स्पोमा १०० भन्दा बढी स्टल राखिनेछन्। जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्ट्स सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहनेछन्। जसमा झन्डै ५० प्रतिशत विदेश स्टल रहने अनुमान आयोजकको छ। 

स्वच्छ ऊर्जाको प्रवर्द्धनमा सहयोग पुर्याउन, नेपालमा विद्युतको खपत बढाउन, विद्युतीय सवारीसाधनको प्रयोगमा अभिवृद्धि गर्ने उद्देश्यले सोको प्रतीकरुवरुप नेपालको पहिलो फर्पिङ जलविद्युत आयोजनासम्म एक्स्पो आयोजना स्थल भृकुटीमण्डपबाट विद्युतीय गाडीको र्याली गरिने आयोजकले जनाएको छ। त्यस अवसरमा विद्युतीय चार्जिङ स्टेसनको समेत उद्घाटन गरिनेछ। 

यो एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।