काठमाण्डौ । निर्जिवन बिमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १ बराबर २.२ अर्थात २२० प्रतिशतको दरले हकप्रद दिने भएको छ । यो निर्णय केही समयअघि नै सार्वजनिक भए पनि प्रस्ताव स्वीकृतिका लागि यो कम्पनीको आगामी असोज ७ गते वार्षिक साधारणसभा आयोजना हुने भएको छ । 

थापाथलीस्थित ट्रेड टावरमा असोज ७ गते दिउँसो २ बजे बहुप्रतिक्षित हिमालयन जनरल इन्स्योरेन्सको हकप्रदको निर्णय स्वीकृत गर्नसक्ने वार्षिक साधारणसभा हुन लागेको हो । 

यो संस्थाले २२० प्रतिशत हकप्रद दिने भनेपछि यसको सेयरमा उच्च आकर्षण छ । संचालक समितिको बैठकको यो निर्णय बाहिरिए लगत्तै सेयर मूल्य तथा कारोबार दुवै बढेको थियो । 

यो बिमा कम्पनीले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १२ करोड ७९ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी ३२ करोड १० लाख रुपैयाँ रहेको छ । २२० प्रतिशत हकप्रदको स्वीकृति र व्यवस्थापनपछि चुक्तापूँजी १ अर्ब २ करोड पुग्नेछ । 

स्रोतका अनुसार नियामकहरुले बिमा कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । संभावित वृद्धिको अवस्थामा कम्पनीलाई मजबुत बनाउन, संभावित क्षतिबाट बच्न र कम्पनीलाई दह्रो बनाउनका लागि हिमालयन जनरल इन्स्योरेन्सले चुक्तापूँजीमा भारी वृद्धि गर्न लागेको हो । चुक्तापूँजी बढाएपछि व्यवसाय बिस्तारमा समेत सहयोग पुग्ने यो कम्पनीका संचालकहरुले दाबी गर्दै आएका छन् ।