काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५१.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ९७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा उत्पादन बिक्रीबाट १ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले आम्दानी २९.७० प्रतिशतले घटेको छ। 

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी घट्दा नाफा प्रभावित भएको देखिन्छ। कम्पनीले पनि आफ्ना उत्पादनहरु गोल्डन ओक र ब्ल्याक ओक मदिरको बिक्रीवितरणलाई प्रभाव पार्न र उपभोक्तालाई भ्रम र झुक्याउनमा पारी आफूलाई फाइदा लिनका लागि केही उद्योगले आफ्नो कम्पनीको जस्तै लेबल र बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिर उत्पादन र बिक्रीवितरण गरिरहेको दाबी गरेको छ। यही कारणले कम्पनीको उत्पादनको बिक्रीवितरण प्रभावित बनेको कम्पनीले जनाएको छ। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४८.५५ प्रतिशतले घटेर १५ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ३० करोड ३७ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसको आकार ३३.२३ प्रतिशतले घटेर १ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.३२ रुपैयाँ भएको छ। गत वर्ष ईपीएस ३५.५२ रुपैयाँ थियो। पीई रेसियो १०७.२२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.४१ रुपैयाँ रहेको छ।