काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आजसम्म करिब ५० प्रतिशतभन्दा बढीको आबेदन परेको छ । 

यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको थियो ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा सातौं  दिन सोमबारसम्म  १९ हजार २९८ जना आवेदकले  १७ लाख २८ हजार ४९८ कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

सिडीएसीका अनुसार आबेदन खुलेको  सातौं  दिन सोमबार साँझ ५ बजेसम्ममा  ३५ करोड ६० लाख  ६६ हजार बढीको खरिद आवेदन परेको छ । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको हो । 

पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियम समेत थप प्रतिकित्ता २०६ रुपैयाँले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको हो । 

विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

आईपीओ खरीदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।

कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यसैबीच, हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ ।

सोमबार न्यायाधीश डा कुमार चुडालको एकल इजलाशले सबै विपक्षीलाई झिकाएर कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो।अहिलेसम्म परेको आवेदन बारे पनि मंगलबार दुबै पक्षको छलफल हुने बताइएको छ।