काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा बिहीबारसम्ममा  करिब ६० प्रतिशतभन्दा बढीको आबेदन परेको छ । 

यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको हो।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा बिहीबारसम्ममा  २२ हजार ८५५ जना आवेदकले  २२ लाख ८ हजार ६० कित्ता का लागि आवेदन दिएका छन् । 

सिडीएसीका अनुसार आबेदन खुलेको दसौं दिन साँझ ५ बजेसम्म  ४५ करोड ४८ लाखरुपैयाँ बढीको खरिद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको हो ।

पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा आगामी मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ । कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ ।