काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आइतबारसम्ममा करिब ६० प्रतिशत भन्दा बढीको आबेदन परेको छ । 

यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको हो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा आइतबारसाँझसम्ममा  २८ हजार ४७९ जना आवेदकले  ३४ लाख ८२ हजार ९०० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

सिडीएसीका अनुसार उक्त अवधिसम्ममा ७१ करोड ७४ लाख ७७ हजार ४०० बढीको खरिद आवेदन परेको छ । 
कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयर निश्कासन गरेको हो । 

पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

आईपीओ खरीदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।

कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो ।