काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेको हो ।  कम्पनीको आईपीओ अब ढिलोमा पुस ११ गते बन्द हुनेछ।

तर आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको चार कार्यदिनपश्चात कुनै पनि दिन निष्कानि बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

पुस १ गतेसम्ममा कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिन सकिने भएता पनि पर्याप्त मात्रामा आवेदन नपरेको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटले बताएको छ । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०८ बजेसम्ममा  कम्पनीको आईपीओमा १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।