काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अर्थात् सोमबार अन्तिम दिन रहेको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले  गत मंसिर २७ गते सर्वसाधारणका लागि निष्कासन गरेको उक्त कम्पनीको आईपीओमा मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आइतबार बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गरिने बताएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार १० बजेसम्ममा  १५ लाख ३९ हजार ४३० जना आवेदकले २ करोड ९६ लाख १८ हजार ८६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जसअनुसार उक्त आबेदनबाट ६ अर्ब १० करोड १४ लाख ८५ हजार रुपियाँ बराबरको सेयर माग भएको छ ।   

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्डक्लियरिङ्ग लिमिटेडबाट निर्मित मेरोसेयर सफ्टवेयरमा गएरसमेत आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।