काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ ।

बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिए जत्ति नै सेयर प्राप्त गरेका छन्। 

बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ। जसअनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात् ४० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको थियो ।

कम्पनीले गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।