काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आज(कात्तिक ६ गते)देखि आयोजना प्रभावितका लागि आइपीओ निश्कासन गरेको छ । 

कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासिन्दाका लागि ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको हो । 

आइपीओमा आयोजना प्रभावितले छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

यो कम्पनीलाई धितोपत्र बोर्डले असोज २ गते आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावितका लागि सेयर निश्कासनपछि कम्पनीले दोश्रो चरणमा सर्वसाधारणका लागि समेत आइपीओ निश्कासन गर्नेछ ।

आयोजना प्रभावित र सर्वसाधारण गरी कम्पनीले कुल २४ लाख ७५ हजार कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । सर्वसाधारण लगानीकर्ताका लागि भने १४ करोड ८५ लाख रुपैयाँको आइपीओ निश्कासन हुनेछ ।

कम्पनीले  जारी गर्न लागेको आइपीओवलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ। 

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।