काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले दोश्रो चरणमा सर्वसाधारणका लागि १४ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन अनुमति पाएको छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई माघ २१ गते सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति दिएको हो । 

निजी क्षेत्रबाट प्रवद्र्धित यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रामेछाप र दोलखाबासीका लागि गत कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख आइपीओ निश्कासन गरेको थियो । 

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी २४ लाख ७५ हजार कित्ता निश्कासन गर्ने अनुमति पाएको थियो । 

कम्पनीले  जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ। 

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गरिसकेको छ भने १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।