काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आज(बुधबार)देखि सर्वसाधारणका लागि १४ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ ।
धितोपत्र बोर्डले यो कम्पनीलाई माघ २१ गते सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो ।
निजी क्षेत्रबाट प्रवद्र्धित यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रामेछाप र दोलखाबासीका लागि गत कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख आइपीओ निश्कासन गरेको थियो ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी २४ लाख ७५ हजार कित्ता निश्कासन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ८५ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।
आइपीओमा छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कुल निश्कासित कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो ।
कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ।
यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गरिसकेको छ भने १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।
कस्तो छ कम्पनीको अवस्था र प्रक्षेपण ?
कम्पनी चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रतिसेयर वार्षिकीकृत घाटा ०.०६१ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष ०७५/७६ को अन्तमा पनि कम्पनीले प्रतिसेयर आम्दानी नबढ्ने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष ०७६/७७ मा भने कम्पनीले प्रतिसेयर १५.४६८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ भने २०७७/७८ मा १८.२२९ रुपैयाँ प्रतिसेयर आम्दानी अनुमान छ ।
कम्पनी ०७६/७७ बाट मात्र सञ्चित नाफामा हुनेछ । ०७५/७६ मा २ करोड बढी सञ्चित घाटामा हुनेछ । ०७६/७७ मा १३ करोड २९ लाख र ३१ करोड ३४ लाख रुपैयाँ सञ्चित नाफा हुने प्रक्षेपण गरिएको छ ।
कम्पनीको प्रतिमेगावाट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो भनेको निकै कम लागत हो । यस्ता कम्पनी लगानीकर्ताको रोजाई बन्ने गर्छन, तर लगानी गर्नुअघि प्रति मेगावाट लागत कम भएकै आधार मात्र हेर्नु हुँदैन ।
कम्पनी अन्तर्गतका दुवै आयोजनाको साधारण लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्नेछ भने डिस्काउण्टमा लगानी फिर्ता हुने समय ९.४३ वर्ष लाग्नेछ ।
उपल्लो खिम्ती(१२ मेगावाट) र अपर खिम्ती(७ मेगावाट) जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रहेको छ ।
उपल्लो खिम्तीबाट वार्षिक ७ करोड ३६ लाख १२ हजार ५१९ युनिट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । यस्तै, अपर खिम्तीले वार्षिक रुपमा ४ करोड २२ लाख ९१ हजार २४८ युनिट उत्पादन हुने प्रक्षेपण कम्पनीको छ ।
कम्पनीले निर्माण गरिरहेका दुवै आयोजनाहरुका लागि आवश्यक रकम ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार मध्ये ७५ प्रतिशत बैंकबाट ऋण स्वीकृत भइसकेको छ भने बाँकी रकममध्ये संस्थापक सेयरधनीहरुबाट ७४ करोड २५ लाख चुक्ता भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago