काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीको आइपीओ पहिलो दिन ४७ प्रतिशतको हाराहारीमा बिक्री भएको छ । 

बिक्री प्रबन्धक  नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार पहिलो दिन बुधबार साँझ ५ बजेसम्म देशभरका ७ हजार ९०९ जनाले ६ लाख ३४ हजार १४० कित्ता खरीदका लागि आवेदन दिएका हुन् । 

कुल निश्कासित १४ लाख ८५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो हिसाबले पहिलो दिन ४६.४१ प्रतिशत सेयर खरीदका लागि आवेदन परेको देखिएको छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई माघ २१ गते सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो । 

निजी क्षेत्रबाट प्रवद्र्धित यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रामेछाप र दोलखाबासीका लागि गत कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख आइपीओ निश्कासन गरेको थियो । 

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी २४ लाख ७५ हजार कित्ता निश्कासन गर्ने अनुमति पाएको थियो । 

आइपीओमा छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले  जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो । 

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गरिसकेको छ भने १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती गरी २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।