काठमाण्डौ । हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ। 

अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो न्यारो बडी एअरक्राप्टको ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको छ। 

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। हिमालय एअरलाइन्सको एअरबस ए३२०–२१४ पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ। यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो। 

पोखरा विमानस्थलका उच्च अधिकारीहरुले हिमालय एअरलाइन्स टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष, सञ्चालक) लाई स्वागत गरेका थिए। त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाण्डौमा अवतरण गरेको थियो।

कार्यक्रममा उपस्थित विजय श्रेष्ठ, उपाध्यक्ष (प्रशासन)ले भने, ‘हिमालय एयरलाइन्स सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध छ। हाम्रो एयरबस ए३२० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरुको सहर पोखरा भ्रमण गर्न विश्वभरी पक्कै पनि सकारात्मक सन्देश दिएको छ। आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि साहसिक पर्यटनको राजधानीको उद्घाटन हुनु हो, जसले नेपालको पर्यटन व्यवसायलाई उचाइमा पुर्याउनेछ। हामी विश्वास गर्छौं कि हाम्रो योगदानले उड्डयन क्षेत्रलाई मात्र होइन, नेपालको पर्यटन क्षेत्रको समग्र विकासमा सहयोग पुग्नेछ।’