काठमाण्डौ । कम्पनीको बित्तीय स्वास्थ्य जाँच नगरी हल्लाको भरमा बिमा कम्पनीको पछि कुद्नेहरुले यो साताको पहिलो कारोबार दिन पनि झट्का भेटेका छन् ।

आइतबार पनि बजारमा बिमा समूहहको सूचक घटेको छ । सेयर बजारलाई प्रभावित पार्ने बैकिंग समूहको सूचक पनि घट्दा समग्र बजार परिसूचक ३.२५ अंकले घटेर १६४३.२८ विन्दूमा झरेको छ। 

यो दिन बिमा समूहको सूचक ८१.८८ अंकले घटेको छ भने बैकिंग समूह ४.४३ अंकले ओरालो लागेको छ । जलविद्यूत समूह ५.९, बित्त समूह ०.८१ र अन्य समूह ०.२९ अंकले घटेका छन् । 
यो दिन होटल समूहमा ४७.६१ अंक, विकास बैंक समूहमा १०.३ र उत्पादनमूलकमा ३१.५३ अंकको बढोत्तरी भएको छ । 

''क'' वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२३ अंकको गिरावट भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ५२ कम्पनीका १७ लाख ७१ हजार ४ सय ८ कित्ता सेयर ९६ करोड ८६ लाख लाख ३१ हजार ९ सय ७१ रुपैयाँमा कारोबार भयो ।

सबैभन्दा बढी प्रभू इन्स्योरेन्सको ८ करोड ९६ लाख बढीको सेयर किनबेच भएको छ । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले ५ करोड ७३ लाख, बैंक अफ काठमाण्डूले ४ करोड १९ लाख, नेपाल लाइफले ३ करोड ८१ लाख, सानिमा बैंकले ३ करोड १६ लाख बढीको कारोबार गरेका छन् । यस्तै, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले २ करोड ९१ लाख, लुम्बिनी विकास बैंकले २ करोड ३३ लाख, शिखर इन्स्योरेन्सले १ करोड ९१ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनी, तीन स्थान वाणिज्य बैंक र २ स्थान विकास बैंक समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा सामान्य गिरावट भए पनि चार कम्पनीका सेयरधनीले कुस्त कमाए । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, हिमालयन डिस्टीलरी र कुुबेर मर्चेन्ट एण्ड फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य पनि ९.०६ प्रतिशतले वृद्धि भयो । 

२५ प्रतिशत बोनस घोषणा गरेकै दिन प्राइम लाइफ इन्स्योरेन्सको मूल्य घट्यो । यो कम्पनीले आइतबार मात्रै ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो । सिन्धु विकास बैंकले ४.१० प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडले ४.०५ प्रतिशतले सम्पत्ति गुमाए ।