काठमाण्डौ । नेपालीसँग रहेको प्रतिबन्धित भारु १ हजार र ५ सय रुपैयाँको पुरानो नोट व्यवस्थापन बिषय पेचिलो बन्दै गइरहेको बेला व्यवस्थापिका संसदको अर्थ समितिले प्रभावकारी कदम चाल्न बिहीबार सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार सो समितिको सिंहदरबारमा बसेको बैठकले नेपाली जनतासँग रहेको बैध भारु सटहीका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएको हो । 

केही समयअघिदेखि नै नेपाल राष्टबैंक र अर्थमन्त्रालयले समेत नेपालमा रहेको बैध भारु सटहीका लागि रिजर्ब बैंक अफ इण्डिया तथा अन्य भारतका सम्बद्ध निकायलाई आग्रह गर्दा समेत गाँठो नफुकिरहेको अवस्थामा संसदीय समिति तातेको हो । 

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन निकाल्ने र नक्कली भारुको समस्या समाधान गर्न भन्दै भारु १ हजार र ५ सयको पुरानो नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । सो घोषणासँगै नेपालीसँग रहेको ती भारुको नोट व्यवस्थापनको अन्यौल सुरु भएको हो । 

भारतीय पक्षले अहिलेसम्म नेपालमा रहेको भारु सटहीको लागि कुनै निर्णय गरिसकेको छैन । नेपालले कुटनीतिक पहल गरेपछि बुधवार भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) को नेतृत्वमा वित्त मन्त्रालयको टोलीसहितको समूह बनाएको खबर सार्वजनिक भएको छ । 
 
समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको ब्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिएको बताएका राससले लेखेको छ ।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानकालागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गरेर नेपालीसँग रहेको पाँच सय र हजारको नोट सटहीका लागि तत्कालै पहल गर्नुपर्ने बताएका थिए।
 
राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।