काठमाण्डौ । बुधबार बजारमा १० महिनापछिकै न्यून कारोबार भएको छ । नेप्से परिसूचक स्थिरजस्तै देखिए पनि कारोबार रकम घटेर १० महिनाकै न्यून विन्दूमा पुगेको हो । 

यसअघि २०७४ असोज १७ गते १४ करोड ५ लाखको न्यून कारोबार भएको थियो । त्यसपछि २०७५ जेठ १ मा १४ करोड ९२ लाखको न्यून कारोबार भएको थियो । यसरी हेर्दा २०७४ असोज १७ गते पछाडिको १० महिने कारोबारमा सबैभन्दा न्यून कारोबार बुधबार नै भएको हो । यो दिन १४ करोड ९१ लाखको कारोबार भयो । 

बजार घटाउने गिरोहको तीव्र चलखेल, लगानीकर्तामा बढ्न नसकेको आत्मबल, घट्न नसकेको ब्याजदर, सरकारको रबैयाप्रति ढुक्क हुन नसकेका ठूला लगानीकर्ता(मारवाडी समुदाय) र बजारको बिस्तारमा ध्यान नदिने नियामक लगायतका कारणले बजारमा निरन्तर कारोबार रकम घटिरहेको छ । कुनै बेला २ अर्बसम्म दैनिक कारोबार हुने बजारमा १५ देखि २० करोडभित्रै फनफनी घुमिरहेको छ । 

बुधबारको मार्केट डेप्थलाई हेर्ने हो भने यो दिन खरीद चाप केही बढी नै देखिएको थियो । बजारको सुरुवातमा नेप्से परिसूचक सामान्य अंकले वृद्धिकै लयमा देखिएको थियो । तर, खरीद गर्नेले सकेसम्म घटाएर किन्ने र बिक्री गर्नेले सकेसम्म बढाएर बिक्री गर्ने प्रवृतिका कारण बजारमा यस्तो अवस्था देखिएको छ । 

अधिकांश लगानीकर्ता केही सकारात्मक संकेत वा परिवर्तनको पर्खाईमा बस्दा समेत बजारको चहलपहल सुस्त छ । 

बुधबार नेप्से परिसूचक ०.८९ अंकले घटेर ११८७.३२ को विन्दूमा समेटियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१ अंकको गिरावट देखियो । 

यो दिन तीन समूहको उपसूचकमा सामान्य सुधार भयो । होटल समूह ३७.४६ अंकले बढ्दा जलविद्युत समूह २.२८ अंक तथा  अन्य समूह १.२६ अंकले बढे । बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । 

बुधबार बैंकिङ समूह १.५७ अंकले घट्यो भने विकास बैंक समूहमा ०.०१, बित्त समूहमा ०.४२, निर्जीवन बिमा समूहमा ४.२१, उत्पादनमूलकमा ९.२३, जीवन बिमा समूहमा २२.३६,  र माइक्रोफाइनान्स समूहमा १.४१ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका ४ लाख ७४ हजार ८ सय ६१ कित्ता सेयर १४ करोड ९१ लाख ९७ हजार ७ सय ९५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी फ्रस्ट माइक्रोफाइनान्सले ८४ लाख बढीको कारोबार गर्यो । एभरेष्ट बैंकले ५९ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले ४८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३९ लाख, इन्भेष्टमेन्ट बैंकले पनि ३९ लाख, सिद्धार्थ बैंकले ३६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ३४ लाख, एनआइसी एशियाले ३३ लाख र सेञ्चुरी कमर्सियल बैंकले २९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार झै बुधबार पनि सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन नयाँनेपाल लघुवित्त विकास बैंकको मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयरमूल्य ५.३२ प्रतिशतले घटेको हो । यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेत ५.२९ प्रतिशतको गिरावट देखियो ।