काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) १२०० देखि तल झर्नसक्ने संभावनाको संघारमा पुगेको छ । बजार विकास र लगानीकर्ताको मनोबल उकास्ने खालको वातावरण तयार नभएपछि नेप्से परिसूचक १२०० को मनोवैज्ञानिक विन्दूबाट ओर्लने संभावना देखिएको हो । 

पछिल्लो समय बजारमा उत्साह भर्नेका खालका कुनै पनि परिवर्तनहरु भएका छन् । लगानीकर्ताहरुको मनोबल गिराउने अन्यौल र अनिश्चयको चाङ व्याप्त छ । 

पूँजीगत लाभकरको झञ्झटिलो व्यवस्था सहज बन्ने गरी सिस्टम तयार भई लञ्च हुन सकेको छैन भने बैंकलाई ब्रोकर लाइसेन्समा आएको अवरोध, ब्याजदरमा हुन नसकेको अपेक्षित कटौति, बजारको ठूलो हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाको आम्दानी र नाफा घट्ने गरी आएको राष्ट्रबैंकको सर्कुलर, ऋणपत्रहरु धमाधम निश्कासन हुँदै गर्दा वैकल्पिक लगानीको उपकरणमा थुप्रिँदै गएको तरलता लगायतका कारणले बजार माथि उठ्न सकेको छैन । 

बजारका ठूला लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिका साथ बसिरहेका छन् भने किन्ने र बेच्नेबीच सानो मार्जिनमै मोलमोलाई चलिरहेको छ । यसले समेत बजारमा चमक फर्किन नसकेको देखिन्छ। 

समग्रमा लगानीकर्ताको गिर्दो मनोबल उठाउने परिवर्तनहरु नहुँदा सोमबार नेप्से परिसूचक ६.४९ अंकले घटेर १२०३.१३ को विन्दूमा झरेको छ । 
केही विश्लेषकहरुले गिरावटको यो क्रम जारी रहे नेप्से परिसूचक ११८० को विन्दूसम्म सीमित हुनसक्ने प्रक्षेपण समेत गरिरहेका छन् । 

त्यसपछि भने बजारमा बाउन्सब्याक भई उकालो यात्राको रफ्तार समात्ने र नेप्से परिसूचक १४०० सम्म पुग्नसक्ने प्राविधिक विश्लेषक विष्णु बस्यालको दाबी छ । 

सोमबार नेप्से परिसूचक मात्र नभई सबै समूहका उपसूचक तथा अन्य सूचकहरु समेत राताम्मे भए । 

राम्रा र बलिया कम्पनीमा बिक्री चाप बढ्दा सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४४ अंकको गिरावट आयो । 

बैंकिङ समूह ४.८५ अंकले घटेको यो दिन विकास बैंक समूहमा ४.०८ अंक, होटल समूहमा १४.३३ अंक, जलविद्युत समूहमा ८.८८ अंक, बित्त समूहमा २.४७ अंक, निर्जीवन बिमा समूहमा २८.३६ अंक, उत्पादन तथा प्रशोधन समूहमा २२.५२ अंक,जीवन बिमा समूहमा ६८.०३ अंक, माइक्रोफाइनान्स समूहमा ०.८१ अंक, अन्य समूहमा ४.४८ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकममा सामान्य सुधार भएको छ । यो दिन १७२ कम्पनीका १६ लाख ३ हजार ३२६ कित्ता सेयर ३८ करोड ५ लाख ९६ हजार ५७१ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन प्रभू बैंकको १० करोड २१ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

यस्तै, नवील बैंकले १ करोड ७९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले १ करोड ६७ लाख, एनआइसी एशिया बैंकले १ करोड ३८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९२ लाख, रसुवागढी हाइड्रोले ८५ लाख, सानिमा बैंकले ८० लाख, माछापुच्छ्रे बैंकले ७६ लाख, प्रभू बैंकले ६९ लाख र मेरो माइक्रोफाइनान्स ६८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मेरो माइक्रोफाइनान्स र साल्ट टे«डिङ कर्पोरेसनका लगानीकर्ताले धेरै कमाए । यी दुवै कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.३३ प्रतिशतले घट्यो ।