काठमाण्डौ । नवील इक्वीटी फण्डको १ अर्बको सार्वजनिक निश्कासनमा दोश्रो दिनभित्रै १.२५ गुणा बढीको आवेदन परेको छ । 

नवील इन्भेष्टमेन्ट बैकिङ प्रवद्र्धक रहेको  दोश्रो म्युचुअल फण्ड नवील इक्वीटीका लागि १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाईको सार्वजनिक निश्कासन आइतबारदेखि भएको हो । 

सोमबार सार्वजनिक विदा परेका कारण दोश्रो दिन मंगलबारसम्ममा १ अर्ब २५ करोड रुपैयाँको आवेदन परेको छ । नवील इन्भेष्टमेन्ट बैकिङस्थित एक स्रोतका अनुसार देशभरिका संकलन केन्द्रबाट ९ हजार बढी आवेदनहरु संकलन भएका छन् । 

असोज २ गते(आइतबार)देखि सार्वजनिक निश्कासन भएकोमा पहिलो दिन २ हजार २ सय आवेदकबाट ३८ करोड बढीको प्रस्ताव परेको परेको थियो । पहिलो दिनको तुलनामा दोश्रो दिन निकै धेरै आवेदन परेको हो ।

नवील इक्वीटी फण्ड सातवर्षे बन्दमुखी(क्लोज इण्ड)म्यूचुअल फण्डको स्कीम हो । यो म्युचुअल फण्डको स्कीम नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले व्यवस्थापन गर्नेछ । 

सार्वजनिक निश्कासनको यो अफर पहिलो चरणमा असोज ६ गतेसम्म र त्यो अवधिमा पनि माग अनुसार आवेदन नपरे असोज १६ गतेसम्ममा सहभागी हुन पाइन्छ । 

इच्छुक सर्वसाधारणले प्रति इकाई १० रुपैयाँ मूल्यको यो स्कीममा न्यूनतम १ सयदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।

कुल निश्कासन हुने १० करोड इकाई अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धक नबील बैंक लिमीटेडका लागि १४ प्रतिशत(१ करोड ४० लाख) इकाई, तथा योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडलाई १ प्रतिशत वा दशलाख इकाई सुरक्षित राखी बाँकी आठ करोड पचास लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको हो ।

नवील बैंकले यसअघि समेत म्युचुअल फण्ड संचालन गरेको थियो । यो बैंकको पहिलो म्युचुअल फण्ड नबील ब्यालेन्स फण्ड १ नेप्सेमा सूचिकृत रहेको छ । यसको अन्तिम प्रति इकाई कारोबार मूल्य २५ रुपैयाँ रहेको छ । नबील ब्यालेन्स फण्ड १ को नेट एसेट भ्यालू रु. २८.२२ रहेको छ, यो भ्यालू साउन अन्तिमसम्मको कारोबारको हिसाबमा निकालिएको हो । 

यसकारण रोजाईमा पर्दैछन् म्युचुअल फण्ड
बैंक तथा बित्तीय संस्थामा लामो टर्ममा पैसा राख्दा जति ब्याज पाइन्छ, त्यस्ता बचतकर्ताले म्युचुअल फण्डमा लगानी गर्दा बढी नाफा प्राप्त गर्छन ।  यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ ।

पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ ।