काठमाण्डौ । आजको सेयर बजारमा कारोबारको पहिलो घण्टामा सामान्य अंकले बढेको नेप्से दिनभर टिक्न सकेन । आज बजार २१०० को मनोबैज्ञानिक विन्दुबाट पनि तल झरेको छ । योसँगै आम लगानीकर्ताहरुमा अबको बजारको बलियो सपोर्ट कहाँ–कहाँ हुनसक्छ ? भन्ने जिज्ञासा देखिएको छ । एकपटक बढेर घटेको बजारले कहाँबाट बलियो सपोर्ट लिनसक्छ भनेर सहज रुपमा अनुमान लगाउने विश्वव्यापी  प्राविधिक औजार भनेको फिवोनासी नै हो । 

बजारको पछिल्लोपटकको आधारविन्दु भनेको १८५० मा रहेको देखिन्छ ।  यो विन्दुबाट पछिल्लो उच्च विन्दु भनेको २२७५ सम्म फिवोनासी तानेर हेर्दा बजारले ०.३८ को विन्दुलाई भत्काएर २०९१ मा बन्द भएको छ । 

अबको ०.५ को विन्दु भनेको २०६० आसपास रहेको देखिन्छ । बजारले यहाँबाट पनि बढोत्तरीको गति लिनसक्छ । यदि यो विन्दुमा पनि बजार टिक्दैन भने अधिक मात्रामा बजार फर्कनसक्ने विन्दु भनेको ०.६१ को तह रहनसक्छ । त्यो भनेको २०१४ को विन्दु रहन्छ ।

त्यसैगरी, पिभट् प्वाइन्टमार्फत हेर्दा बजारको पहिलो सपोर्ट २१०८ को विन्दु भत्काएर आज तल झरेको छ । अबको दोस्रो सपोर्ट भनेको २०३४ र तेस्रो सपोर्ट भनेको १९८० मा हुन आउँछ । 

यस हिसाबले फिवोनासी र पिभट् प्वाइन्टमार्फत हेर्दा अहिलेको गिरावट करिब करिब २००० आसपासको कुनै पनि विन्दुबाट बाउन्सब्याक हुनसक्ने देखिन्छ । 

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो कुनै कारोबारको सिफारिस भने होइन ।)