– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजारमा लगानी गरेर कमाउने र गुमाउने लगानीकर्ता प्रशस्तै भेटिन्छन्। सेयर बजारमा लगानी गर्नुपूर्व राम्ररी अध्ययन गर्नुपर्छ। अध्ययन गरेर लगानी गर्नेले मात्र राम्रो नाफा कमाउन सक्छन्। 

नेपालको सेयर बजारमा लगानी गरेर काठमाण्डौमा घर र गाडी जोड्न सफलमध्येका एक लगानीकर्ता हुन्, मनोज गुरुङ। वैदेशिक रोजगारीको सिलसिलामा झन्डै दुई दशक बेलायत र कोरियामा बिताएका गुरुङ हाल काठमाण्डौको बालाजुमा बसोबास गर्छन्। तनहुँ स्थायी घर बताउने गुरुङका श्रीमती, १ छोरा र २ छोरी छन्। 

नेपालको सेयर बजारलाई आफूले राम्रोसँग बुझेको गुरुङ बताउँछन्। ‘मैले बेलायतमा बस्दादेखि नै सेयर बजारका बारेमा अध्ययन गर्न थालेको थिएँ’, उनले भने, ‘कम्पनीहरुको आईपीओ पनि भर्थें।’

आफूले २०६३ सालदेखि प्राथमिक बजारमा लगानी गर्न सुरु गरेको गुरुङ बताउँछन्। ‘दोस्रो बजारमा भने २०६५ सालबाट मात्र लगानी गर्न थालेको हुँ’, उनले भने, ‘दोस्रो बजारमा मैले सुरुमा एभरेस्ट बैंकको ५० कित्ता सेयर किनेको थिएँ। त्यसपछि नेपाल इन्स्योरेन्सको सेयर किनेँ। त्यतिबेला बजारमा बैंक र इन्स्योरेन्सको सेयरभाउ बढ्छ भनेर निकै चर्चा चलेको थियो।’

२०६६ सालमा लाभांशको लोभले आफूले प्रतिकित्ता ५०० रुपैयाँ हालेर नेरुडे लघुवित्तको ४ हजार ५०० कित्ता सेयर किनेको गुरुङले सुनाए। ‘नेरुडेको सेयर २०७१ सालसम्म होल्ड गर्दा करिब १२ हजार ६०० कित्ता भएको थियो’, उनले भने, ‘सबै सेयर मैले प्रतिकित्ता २ हजार ५०० रुपैयाँका दरमा बिक्री गरेँ।’

आफूले नेरुडेमा करिब २२ लाख ५० हजार रुपैयाँ लगानी गरेकोमा ५ वर्षमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको गुरुङले जानकारी दिए। ‘विश्वमै सेयर बजारभन्दा धेरै कमाउने र गुमाउने क्षेत्र अरु छैन’, उनले भने, ‘विदेश २० वर्ष बस्दा नकमाएको पैसा मैले ५ वर्षमै नेपालको सेयर बजारबाट कमाएँ। यही पैसाले काठमाण्डौमा मैले घर र गाडी जोड्न पनि सफल भएँ।’

आफू वैदेशिक रोजगारीमा रहेको बेला कमाएको पैसा बेला–बेला छुट्टीमा नेपाल आउँदा सेयर बजारमा लगाउने गरेको गुरुङको भनाइ छ। ‘बेलायतमा बस्दा त्यहाँ रहेका आफ्ना नातेदारबाट मैले सेयर बजारको ज्ञान पाएको थिएँ र लगानी गर्न थालेँ’, हाँस्दै उनले भने, ‘म भाग्यमानी हो कि के हो ? २०७५ सालमा नेको इन्स्योरेन्स प्रतिकित्ता ६०० रुपैयाँ र शिखर इन्स्योरेन्स प्रतिकित्ता ९०० रुपैयाँको दरले किनेर २०७८ सालमा लगानीलाई तीनगुणा बनाएर बिक्री गरेँ। केही पैसा काठमाण्डौमै घडेरीमा लगानी गरेँ।’

अहिले बजारमा लगानी गर्ने समय रहेको गुरुङ बताउँछन्। ‘अब विस्तारै गरेको लगानीले केही वर्षमा राम्रो नाफा दिन सक्छ’, उनले भने। 

बजारको बुल र बियर बुझ्न सक्ने लगानीकर्ताले राम्रो नाफा कमाउन सक्ने गुरुङ अनुभव छ। ‘मैले पनि अल्पकालीन कारोबार गर्दा नेपाल टेलिकमको सेयरमा नराम्रोसँग घाटा खाएको छु’, तीतो अनुभव सुनाउँदै उनले भने, ‘नेपाल टेलिकमको सेयर प्रतिकित्ता १ हजार ६०० रुपैयाँभन्दा माथि पुगेर १ हजार २०० रुपैयाँमा झरेपछि छिटो समयमै नाफा कमाउने आशमा खरिद गरेँ। तर, लगातार घटेपछि प्रतिकित्ता २०० रुपैयाँ घाटा खाएर नेपाल टेलिकमको सबै सेयर बेचेँ।’ 

त्यसैले अल्पकालीनभन्दा दीर्घकालीन लगानीले नै बढी नाफा दिने र लगानी पनि सुरक्षित हुने गुरुङको अनुभव छ।