-अर्जुन तिम्सिना
केही दिनदेखि शेयर बजारले एघार सयको मनोबैज्ञानिक बिन्दूलाई टेवाको रुपमा परिक्षण गरी नयाँ यात्रा शुरु गरेको छ, बजार १३०० विन्दू नजिक पुगेसँगै लगानीकर्तामा खुशियाली छाएको छ ।
जसरी विज्ञानमा न्यूटनको चाल सम्बन्धी तेश्रो नियम लागू हुन्छ, त्यसरी नै शेयर बजारमा पनि न्यूटनको यो नियम लागू हुन्छ, जुन नेपालको शेयर बजारको इतिहास हेर्दा घामजस्तै प्रष्ट छ ।
२०६५ भदौ १५ गते ११७५ मा पुगेको नेप्से परिसूचक २०६७ असोज ३ गते ३९९ बिन्दुमा झर्यो । त्यसपछि उकालो लागेकोको शेयर बजार २०७३ साल साउन १२ गते अहिलेसम्म कै उच्च १८८१ को बिन्दु चुम्यो ।
अब इतिह्ँसलाई आधार र बिज्ञानलाई भरोसा गर्ने हो भने अहिले १२९२ को हाराहारीमा रहेको नेप्से परिसूचक केही वर्षभित्रमा २५ सय पुग्ने आधार मैले देखिरहेको छु । यो पंक्तिकारलाई भने विज्ञान, मनोविज्ञान, इतिहास, अर्थशास्त्र र जोतिषशास्त्र समेत केलाउँदा कुनै शंका छैन ।
मनोवैज्ञानिक आधार
शेयर बजारमा मनोविज्ञान यस्तो महत्वपूर्ण हुन्छ कि लगानीकर्ताको मनोविज्ञान गिर्दा नेप्से परिसूचक पनि झरिदिन्छ भने बलियो मनोविज्ञान हुँदा परिसूचक उकालो लाग्छ ।
अहिले लगानीकर्ताको मनोविज्ञान बलियो भएको अवस्था हो । धेरै लगानीकर्तामा के डर थियो भने बजार नौ सय वा हजारमा नै आउने हो कि वा हाम्रो लगानी थप जोखिममा पर्ने हो कि । यस्तो संशय अब पूर्ण रुपमा हटेको छ ।
आधारभूत तथा टेक्निकल विश्लेषकहरु लगायत सबैको बिश्लेषण मिल्नु र सहमत हुनु र बजारले ११ सयको विन्दूमा पटक पटक टेवा लिएर माथि जानुलाई धेरैले अर्थ पूर्ण रुपमा लिएका छन् र बजारले यहीबाट यूटर्न लिएको मान्नेहरुको जमात धेरै हुँदा पनि बजार बढेको हो र अब बुल ट्रेन्ड नै हो भन्न सकिन्छ ।
विज्ञानको आधारमा
सर आइज्याक न्यूटनको चाल सम्बन्धी तेस्रो सिद्धान्त भन्छ, हरेक क्रियाको बराबर, तर बिपरित प्रतिक्रिया हुन्छ । यसलाई पनि लगानीकर्ताले एउटा लगानीको औजारको रुपमा लिएको र लिन सक्ने मान्निन्छ ।
सेयर बजारमा यसको अर्थ यो हुन्छ कि बजार जसरी घट्छ एक दिन त्यसरी नै माथि जान्छ । बजारले निश्चित चक्र पार गरिसकेपछि यस्तो हुन्छ ।
नेपालकै शेयर बजारमा पनि यो पटक पटक लागू भएको र हाम्रो छिमेकी राज्य भारतमा पनि यसको ज्वलन्त उदाहरण भेटिन्छ ।
सन् २००८ को जनवरीमा सेंसेक्स २१२०६ बिन्दूमा पुगेको थियो । त्यसपछि उक्त परिसूचक घटेर ८००० सम्म आयो । र, अहिले उक्त विन्दू बढेर ३९१४० भएकोले पनि बजार एउटै लयमा मात्रै कुद्दैन भन्ने देखिन्छ । यस्तो संसारकै शेयर बजारमा हुन्छ र युरोप अमेरिकी बजारमा पनि यस्तै हुन्छ ।
अर्थशास्त्रको सिद्धान्त
अर्थशास्त्रको सामान्य सिद्धान्त के हो भने बजारमा कुनै पनि बस्तुको मूल्य निर्धारण माग र आपूर्तिको आधारमा हुन्छ र मूल्य बजारले आफै निर्धारण गर्छ ।
हामीले दैनिक उपभोग गरेको कालिमाटीको तरकारी होस या टमाटर यही सिद्धान्तका आधारमा किनबेच हुन्छ, यो हामीले जानेकै कुरा हो ।
अधिक आपूर्ति भएपछि मूल्य आफै घट्छ । बिगत केही वर्षमा सेयर बजारमा यही भएको थियो । २ अर्ब पूँजी भएको बैंक ८ अर्बका भए । शेयरको अधिक आपूर्ति भयो र मूल्य प्रभावित भयो ।
अब बिस्तारै शेयर कर्नर हुन थालेको छ । कर्नर भनेको के हो भने मूल्य घटेर तल आएको बेला ठूला लगानीकर्ताले लाखौं शेयर उठाउँछन् र शेयरको आपूर्तिको मात्र कम हुन जान्छ, फलस्वरुप माग बढ्दा शेयरको मूल्य बढ्न थाल्छ । अहिले भएको यही हो ।
लंगडो भएपनि अनलाइन कारोबार प्रणाली अस्तित्वमा छ । यसले गर्दा विदेशबाट पनि शेयर किनबेच हुनसक्छ । बैंकहरुले ब्रोकरको काम गर्ने अनुमति पाउने क्रममा छन्, यसले गर्दा गाउँ गाउँबाट शेयरको माग बढ्न सक्छ । बैंकहरु गाउँ गाउँ पुगेका छन्, फलस्वरुप माग बढ्न गई शहरमा शेयर कर्नर हुने र गाउँ गाउँबाट माग बढ्ने हुँदा भबिस्यमा शेयर बजार अझै बढ्ने निश्चित झै देखिन्छ ।
बिस्तारै विकास खर्च बढ्न थालेको छ । यसपालि समयमै बजेट आउनसक्ने संकेत देखिएको छ ।
गत वर्ष बैंक तथा बितिय संस्थाले राम्रै कमाएका र तेस्रो क्वार्टरको रिपोर्ट पनि धमाधम आउने क्रम जारी छ, यसले बजारलाई सकरात्मक बाटोतर्फ डोहोर्याउँछ ।
अर्थमन्त्री र राष्ट्रबैंकका गभर्नरले अनौपचरिक रुपमा आउने मौद्रिक नीतिमार्फत ठूला बैंकहरुबीच बिग मर्जरको नीति आउनसक्ने संकेत गरिरहँदा यसले समेत लगानीकर्ताकर्ताको मनोबल बलियो बनाएको छ, जुन सकारात्मक छ ।
बजारमा तरलता सहज भएसँगै स्वभाविक रुपमा ब्याजदर घट्छ, यसले लगानीकर्ताकर्ताको मनोबललाई अझ मजबुत बनाउनेछ ।
नेपालको आर्थिक वृद्धिदर लगातार सुधार हुँदै गएको छ । विकास निर्माणका पुराना ढर्रालाई सरकारले परिवर्तन गर्नसक्ने अवस्था देखिन्छ । यसो भयो भने आगामी आर्थिक वर्षदेखि सरकारको खर्च गर्ने तरिका समेत परिवर्तन हुनेछ । यसले बाहै्रमास तरलताको सिर्जना गरी बजारमा लगानीको आकर्षक वातावरण बनाउनसक्छ ।
माथि उल्लेख गरिएका यिनै आधारहरुलाई केलाउँदा अबको बजार बुलिश ट्रेन्डमै कुद्छ भन्न सकिन्छ ।
बित्तीय ज्योतिषशास्त्रका आधारमा
अमेरिकी कम्पनी जे पी मोर्गनले भनेका छन् ूलखपतिहरु ज्योतिसकहाँ जाँदैनन्, तर अर्बपतिहरु जान्छन । यसको अर्थ हुन्छ धनाढ्य, राजपरिवार र शाही परिवार ज्योतिषकोमा जानु कुनै न कुनै अर्थ छ ।
बजारमा मात्र नभएर अन्य धेरै कुरामा ज्योतिषशास्त्र हेरेर लेखाजोखा गर्ने गरिन्छ । ज्योतिष विज्ञानका ज्ञाताहरु भन्छन् ग्रहको अवस्थिति र नक्षेत्रको प्रभावका कारणले पनि बजारमा उतारचढाव हुन्छ ।
२०६५ साल भदौ १५ गते बजार उच्च बिन्दुमा पुग्दा बृहस्पति ग्रह बलवान भएर लग्नमा स्थिति , र कर्मको स्वामी ग्रहबीच प्रबल सम्बन्ध थियो । यो अनुच्छेद मैले रविन्द्र भट्टराईको पुस्तकबाट लिएको हुँ । र, अहिले पनि बृहस्पति क्रमशः बलवान हुँदै गएको कुरामा ज्योतिषशास्त्रीहरु एकमत रहेका हुँदा बजारले बुलिश ट्रेन्ड लिने आधर छ ।
तर, लगानीकर्ताले सेयरमा लगानी गर्नुअघि आफैंले पनि लगानी गर्न खोजेको कम्पनीको विषयमा राम्रोसँग अध्ययन अनुसन्धान गर्न आवश्यक छ । आफ्नो लगानी रणनीति अनुसार अगाडि बढ्न सकेको खण्डमा र मिहीन अध्ययन गरी लगानी निर्णय लिन सकेको खण्डमा बुलिस बजारमा मालामाल बन्न सकिन्छ ।
(तिम्सिना सेयर बजारका सक्रिय लगानीकर्ता हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago