काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २५ लाख कित्ता सेयर निश्कासन गर्ने भएको छ । 

कम्पनीले १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी १३ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।

यो कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्र्माण गरिरहेको छ । ३ अर्ब ६० करोड रुपैयाँ लागतमा यो आयोजना पूरा हुने प्रारम्भिक अनुमान गरिए पनि लागत बढेर अहिले ३ अर्ब ८६ करोड पुगेको छ । बढेको लागतमा समेत आयोजना निर्माण गर्ने उद्देश्यले कम्पनीले साधारण सेयर बिक्री गर्न लागेको हो । 

आगामी अप्रिल तेश्रो साता काम पूरा भई विद्युत प्रसारण लाइनमा जोडिने बताइएको यो योजनाको गत अक्टोबरसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । 

यो कम्पनीले विद्युत प्राधिकरणसँग वर्षायाममा प्रति मेगावाट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा  विद्युत बेच्ने सम्झौता गरेको छ ।