१५ जेठ, काठमाडौं। सरकारले २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संस्दमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्। सरकारले केही समयअघि नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी अनुदानका लागि प्रस्ताव पनि आह्वान गरेको थियो। जसमा सुरुआती पुँजीको ५० प्रतिशत सरकारले अनुदान दिने घोषणा गरेको छ। 

यसैगरी बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको छ। यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ।

खतिवडाले आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको सुनाए। त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ।

सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब छुट्याइएको खतिवडाले बताए। कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ।