काठमाण्डौ । पूँजीबजारमा सर्वसाधारणको आकर्षण पछिल्लो समय ह्वात्तै बढेको छ । घण्टौ लाइनमा बसेर समेत कमजोरै देखिएको संस्थाहरुको सेयरमा समेत लगानी गर्नेहरुको चाहना पछिल्लो समय थामिनसक्नु गरी बढेको देखिएको छ । यसको पछिल्लो प्रमाणको रुपमा दिव्यश्वरी हाइड्रोपावरले खुलाएको आइपीओमा परेको अचाक्ली आवेदनलाई लिन सकिन्छ । यो कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर(आइपीओ)मा चार दिनको अवधिमा मागभन्दा करिब ७९ गुणा बढी आवेदन परेको हो । 

आइपीओको बिक्री प्रबन्धक एस क्यापिटलका एक अधिकारीका अनुसार सेयरको माग गर्दै करिब ३ अर्ब ११ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कुल १ लाख ९ हजार वटा आवेदन परेको बताइएको छ । जबकि दिव्यश्वरी हाइड्रोपावर कम्पनीले असार १३(सोमबार)देखि ३ करोड ९६ लाख बराबरको ३ लाख ९६ हजार कित्ता सेयरका लागि मात्र आइपीओ गरेको हो । 

सेयरमा आवेदन खुलेको पहिलो दिन नै ६ हजार भन्दा बढीले १८ करोड २२ लाख बराबरको आवेदन दिएका थिए । यसैगरी, दोश्रो दिन कुल २८ हजार आवेदकले ८४ करोड ९४ लाख, तेश्रो दिन कुल ४८ हजार आवेदनबाट १ अर्ब ४६ करोड र चौथो दिन अर्थात बिहीबार कुल १ लाख ९ हजार आवेदकबाट ३ अर्ब ११ करोड बराबरको आवेदन परेको छ ।  

न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको सेयरका लागि आवेदन परेको हो । 

यो कम्पनीले २ प्रतिशत अर्थात ७ हजार ९ सय २० कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १९ हजार ८ सय कित्ता सेयर सामूहिक लगानी कोष संचालन गरेका कम्पनीहरुका लागि छुट्याएको छ । त्यस्ता कम्पनीहरुमा नबील ब्यालेन्स फण्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड, एनआइबिएल समृद्धि फण्ड, लक्ष्मी भ्यालु फण्ड, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र ग्लोबल आइएमई समृद्धि फण्ड रहेका छन् । बाँकी ३ लाख ६८ हजार २ सय ८० कित्ता सेयर चाहि सर्वसाधारणहरुले पाउने छन् । 

आइपीओ जारीपछि कम्पनीको हालको १९ करोड ८० लाखको चुक्तापूँजी बढेर २६ करोड ४० लाख पुग्नेछ । यो जलविद्युत कम्पनीको अधिकृत पूँजी  ५६ करोड रुपैयाँ रहेको छ । 

आइपीओपछि यो कम्पनीमा प्रोमोटर, प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको सेयर स्वामित्व रेसियो क्रमशः ७५, १० र १५ प्रतिशत कायम हुनेछ । 

यो हाइड्रोपावरको आइपीओलाई नेपालको एकमात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ, जुन रेटिङ खासै राम्रो होइन । 

दिव्यश्वरी हाइड्रोपावरले २०७२ फागुन ३० गते आयोजना प्रभावित संखुवासभाको धुपु, स्याँबू, वाना गाविस र चैनपुर नगरपालिका वडानम्बर ८, ९ र ११ का बासिन्दाका लागि १ सय अंकित मूल्यका २ लाख ६४ हजार साधारण सेयर यसअघि नै निश्कासन गरिसकेको छ । 

यो आयोजना संखुवासभाको धुपु गाविसमा अवस्थित छ । ४ मेगावाट विद्युत उत्पादन गर्नसक्ने क्षमता रहेको यो आयोजनाले आगामी आर्थिक वर्षको सुरुवातदेखि नै बिजुली उत्पादनको काम थाल्ने बताइएको छ ।