-अर्जुन तिमिल्सिना 
काठमाण्डौ ।  बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र दलाल व्यवसायी(ब्रोकर) हरुको  आ-आफ्नो अडान कायमै रहँदा नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस) सूचारु हुन नसकेको पाइएको छ ।

बिसं २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए।  तर चालू आर्थिक वर्ष २०८०/ ०८१ को पुस महिना लाग्दासम्म  नयाँ टीएमएस सुरु भएको छैन ।

पहिलाको टीएमएसमा धेरै अस्तुष्टि देखिएपछि ब्रोकरहरुले नयाँ आफ्नै टीएमएस ल्याउने प्रक्रिया अगाडि बढाएका थिए ।

तर समयअवधिको हिसावले भने यो प्रक्रिया सुरु भएको ठीक तीन वर्ष पुगेको छ । अन्तिम चरणमा पुगेको भनिएको नयाँ टीएमएसको विषयमा नेप्से र ब्रोकरहरुको आ-आफ्नै तर्क रहेका छन् । 
नयाँ टीएमएसको नेतृत्व गरेका स्टक ब्रोकर एशोसिएशन अफ नेपालका  निबर्तमान अध्यक्ष सान्तोष मैनालीले आफ्नो तर्फबाट पुरै काम भएको तर नेप्सेमा गएर प्राविधिक कामले अड्किएको बताउँछन् ।

उनी भन्छन्, ‘पछिल्लो पटक नेप्सेको सिष्टममा बाधा पुग्यो भनेर १५ दिन जति काम रोकिएको छ । हामीले हाम्रो तर्फबाट सबै काम गरिसकेका छौं ।

नेपाल  स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादूर कार्कीको मत चाहिं मैनालीको भनाइभन्दा केहि भिन्न छ । उनी भन्छन् ‘ब्रोकरको तर्फाट काम गर्ने भेण्डर कम्पनी डीजी हवले गर्नुपर्ने सबै प्राविधिक काम हुन सकेन । प्राविधिक पाटो त डीजी हवले नै गर्नुपर्छ । सबै काम हामीले गर्न भनेपछि केहि ढिलो भएको साँचो हो ।’
उनी काम भने द्रूत गतिमा गरेको बताउँछन् । यसले के प्रष्ट हुन्छ भने झट्टै नयाँ टीएमएस आउने लक्षण भने देखिदैन । किन कि प्राविधिक कामलाई लिएर दुबै पक्षले आआफ्नो अडानमा कायमै राखेका छन् ।
यसअघि  लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनका लागि कस्टमाइजेसनको काम हुँदै गरेको स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका निर्वतमान अध्यक्ष सन्तोष मैनालीले बताएका थिए । 
उनका अनुसार आफ्नो ब्रोकरबाट मात्रै हुँदै आएको कस्टमाइजेसनको काम अब अन्य ३२ वटा ब्रोकरबाट पनि हुँदै आएको छ।

यसअघि मैनालीले काम द्रुतगतिमा अगाडि बढेकाले दसैंअगाडि लन्च गर्ने तयारी गरेको बताएका थिए । तर उनले यसो भनेको पनि तीन महिना भइसकेको छ ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ कात्तिक २० गते  हाल ब्रोकरहरुले सञ्चालन गरेको नयाँ टीएमस नयाँ टीएमएसको उद्घाटन गरेका थिए । तर यसमा असुन्तुष्ट रहेका ब्रोकरहरुले अर्को नयाँ टीएमस सञ्चालन गर्ने प्रक्रिया गरेका छन् ।

दुबै पक्षको यस्तो अडानलाई कतिपय लगानीकर्ताले नयाँ टिमएसबारे ‘ठूलो दसैंको भाका चैते दसैंसम्म’ पुग्ने भो भन्दै व्यंग्य गरेका छन् ।