काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरैजसो लघुवित्त वित्तीय संस्थाको नाफा खुम्चिएको छ। 

पछिल्लोपटक राष्ट्र बैंकले ब्याजदरमा क्याप लगाएपछि लघुवित्तको नाफामा गिरावट आएको हो। हाल राष्ट्र बैंकले लघुवित्तहरुलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन रोक लगाएको छ। यसको सीधा असर लघुवित्तको ब्याज आम्दानीमा परेको देखिन्छ।

आँधीखोला लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको सिवाईसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशतले गिरावट आएको छ।

यो लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले यो लघुवित्तको नाफामा ४५ प्रतिशतको गिरावट आएको छ।

कम्पनीको ईपीएस पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले र रिटर्न अन इक्विटीमा ७३ प्रतिशतले गिरावट आएको छ। 

सिवाईसी लघुवित्तको सेयर दोस्रो बजारमा गत जुन १३ बाट कारोबारमा आएको थियो। पछिल्लो २५ दिन (हिजो मंगलबारसम्म) लगातार यो लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको थियो। आज भने अन्तिम कारोबार मूल्य प्रतिकित्रा २ हजार ६३५ रुपैयाँ कायम भएको छ। 

यो लघुवित्तको ट्रेडर फ्लोरसिट हेर्दा ब्रोकर नं. २८ ले उच्च खरिद र ५८ नं. ब्रोकरले उच्च बिक्री गरेको देखिन्छ। यी दुवै ब्रोकरले एक–अर्काबीच कारोबार गरेर यो लघुवित्तको मूल्य अस्वाभाविक रुपमा उचालेको एक बजार जानकार बताउँछन्। ‘यो लघुवित्तको वित्तीय अवस्था ठिकै देखिन्छ तर दोस्रो बजारमा लगातार २५ दिन सकारात्मक सर्किट लाग्नु अस्वाभाविक देखिन्छ’, ती जानकारले भने, ‘बजारमा यसरी खुलेआम कुनै कम्पनीको सेयरमा चलखेल हुँदा पनि नियामक निकाय चुप लागेर बसेको छ। जसका कारण चलखेल गर्नेहरुको मनोबल झनै बढेको छ।’

लगानीकर्ता दिनेश बन्जाराले यो लघुवित्तको सेयरमा उच्च जोखिम रहेको बताउँछन्। ‘अस्वाभाविक बढोत्तरीले सोझासाझ लगानीकर्ता फस्ने सम्भावना पनि बढेको छ’, बन्जाराले भने। 

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागका प्रमुख नवराज अधिकारीले यस विषयमा आफूहरुले अध्ययन गर्ने र आवश्यक परेको कारबाही गर्न पछि नपर्ने बताए। धितोपत्र बजारमा हुने कुनै पनि चलखेल बोर्डले नजिकबाट नियाल्ने पनि उनले स्पष्ट पारे।