काठमाण्डौ ।विभिन्न चार ओटा लघुवित्त कम्पनीहरुले दसैँअघि नै लाभांश घोषणा गरेका छन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ ओटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्म चार ओटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट  शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

हालसम्म लाभांश प्रस्ताव गरेकामा युनिक नेपाल लघुवित्त वित्तीय संस्था,स्वाबलम्बन लघुवित्त वित्तीय संस्था,आरएसडिसी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था रहेका छन् ।

ती कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश प्रस्ताव चाहिँ युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गरेको छ । उक्त कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)  वितरण गर्ने प्रस्ताव गरेको छ।  उक्त कम्पनीले यो वर्ष पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । 

यसैगरी, दोस्रोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीको प्रस्तावित गरेको लाभांश १० वर्षयताकै न्यून हो ।

अघिल्लो आवमा भने कम्पनीले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गरेको थियो । 

त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ८.६० प्रतिशत र ०.४५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ)  वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले अघिल्लो आवको सञ्चित मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त कम्पनीले अघिल्लो आवमा भने सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ती सवै कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि  सेयरधनीले पाउने छन् ।

एक वर्षअघि भने दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये लघुवित्तहरूको सेयरमा लगानीकर्ताहरूको आकर्षण बढी थियो । यो क्षेत्रका कम्पनीहरूको सेयर मूल्य बजार बढ्दा उच्च दरमै बढ्ने गरेकाले कम मूल्यमा शेयर खरीद गर्दा पनि राम्रो नाफा कमाउन सकिने भएकाले लगानीकर्ताको आकर्षण  छ । 
 नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीलाई चालू आर्थिक वर्षदेखि नै लाभांश वितरणमा कडाई गरेको छ । केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीलाई बढी हुने लाभांशको कुल ९५ प्रतिशत रकम विभिन्न कोषमा जम्मा गर्नुपर्ने प्रावधान ल्याएको छ ।

जसका कारण कतिपय लघुवित्त कम्पनीहरूको लाभांश दर घटेको छ । लाभांश दर घटेसँगै सेयर मूल्य पनि घटेको छ ।