काठमाण्डौ । आइतबार बजारमा आएको उछालपछि थोरै भए पनि प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले नेप्से परिसूचक बढ्न कठीन भए पनि सोमबार चारवटा कम्पनीमा पोजिटिभ सर्किट ब्रेकर लागेको छ । 

ती चारवटा कम्पनीको सेयरमा अचाक्ली खरीद चाप देखिएपछि पोजिटिभ सर्किट ब्रेकर लागेको हो । 

दोश्रो बजारमा कुनै पनि कम्पनीको मूल्य १० प्रतिशतले घट्दा वा बढ्दा सर्किट ब्रेकर लाग्ने गर्छ । 

पूँजीबजार परिसूचकमा उछाल आएको अवस्थामा बोनस सेयर र हकप्रद सेयर प्रस्ताव गरेका कारण चारवटा कम्पनीको मूल्यमा उछालको अवस्था देखिएको हो । 

यो दिन हाथ्वे फाइनान्सको बजार मूल्य एकैदिन १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेको छ । प्रतिकित्ता १२ रुपैयाँको दरले एकैदिन बढी कम्पनीको १३२ रुपैयाँ पुगेको छ । यो भनेको १० प्रतिशतको वृद्धि हो । यो कम्पनीले आकर्षक बोनस र हकप्रद घोषणा गर्ने सूचना बाहिरिएपछि लगानीकर्ताले कम्पनीको सेयर उठाएका हुन् । 

ग्लोबल आइएमई लघुवित्तले साधारणसभाबाट १५ प्रतिशत बोनस शेयरसँगै सतप्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव पारित गरिसकेको छ । यसकारण समेत यो कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका पाइएको छ । बजार विश्लेषकहरुका अनुसार बोनस शेयरपछिको प्रतिकित्ता सेयरको मूल्य समायोजन भई केही तल झरेको मौकामा कम्पनीको सेयर उठाउने तछाडमछाड चलेको हो । यो कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाइएको छ । 

यो दिन सिभिल लघुवित्त वित्तीय संस्थाको सेयरमा समेत लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाएको छ । यो कम्पनीको हकप्रदका कारण लगानीकर्ता बढी आकर्षित भएका पाइएको छ । एकैदिन प्रतिकित्ता ६४ रुपैयाँ बढेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँको उचाईमा पुगेको छ ।

आफ्ना सेयरधनीलाई पहिलोपटक १० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको र त्यसलगत्तै सतप्रतिशत हकप्रद समेत वितरणको अजेण्डासहित साधारणसभा आह्वान गरेको जलविद्युत लगानी तथा विकास कम्पनी(एचआइडिसिएल)को सेयर उठाउन समेत लगानीकर्ताको मरिहत्ते देखिएको छ । यहीकारण कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले वृद्धि भई सर्किट ब्रेक लागेको छ । प्रतिकित्ता १५ रुपैयाँले बढेको मूल्य १६७ रुपैयाँ पुगेको छ ।