काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आर्जन गरेको छ।विद्युत निर्यात गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रूपैयाँले बढी हो।

गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रूपैयाँ आर्जन गरिएको थियो।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रूपैयाँ आर्जन भएको छ। 

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत निर्यात गरेको छ। 

उक्त अवधिसम्मको समग्र औसत विद्युत बिक्री दर प्रतियुनिट ९ रूपैयाँ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट ७ रूपैयाँ ७६ पैसा थियो।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख  भारु आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए।