काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । तेश्रो दिन(बुधबार)सम्म यो कम्पनीको आइपीओमा १ अर्ब ७८ करोड बढीको आवेदन परेको हो । 

छ्याङ्दी हाइड्रोले जेठ १४ गतेदेखि ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासन गरेको थियो । आइपीओमा मागभन्दा करिब ३६ गुणा बढी आवेदन परेको हो । देशभरबाट कुल ३९ हजार ३ सय ५ वटा आवेदन परेका थिए । 

तेश्रो दिनसम्म परम्परागत प्रणालीबाट २५ करोड ३७ लाख र आस्वाबाट ७१ करोड १४ लाख बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । 

यो कम्पनीको आइपीओमा आवेदन दिने आज(बिहीबार) अन्तिम दिन हो । 

आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम २ हजार ७ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो जलविद्युत कम्पनीले १० हजार ८ सय कित्ता आफ्ना कर्मचारीका लागि, २७ हजार कित्ता १० वटा म्युुचुुअल फण्डहरुका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ । 

यो कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । हाल यो कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २७ करोड पुुग्नेछ । 

हालै, छ्याङ्दी हाइड्रोपावर कम्पनीले २ करोड ७० लाख मूल्य बराबरको आइपीओ आयोजना प्रभावित लमजुङका स्थानीयका लागि जारी गरेको थियो । 

आइपीओपछि संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको कम्पनीमा सेयर स्वामित्व संरचना ७०ः१०ः२० मा रुपान्तरण हुनेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । 

यो कम्पनीले लमजुङ जिल्लामा हाल २ मेगावाटको चण्डी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।