काठमाण्डौ । आज मुलुकभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

यसै क्रममा आज देशभरका ६ वटा महानगरपालिकामध्ये ५ वटाले बजेट सार्वजनिक गरेका छन् भने ललितपुर महानगरपालिकाले विवादका कारण सार्वजनिक गर्न सकेन। 

काठमाण्डौ महानगरले १८ अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको छ। बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ।

प्रस्तावित बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कृष्ट चाहना, गत वर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझाव, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको छ।

यसैगरी पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

पोखरा महानगरले चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ। महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ। महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१  लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

यस्तै वीरगन्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ। बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ केरोड ३३ लाख ३० हजार १ सय र वित्तीयतर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ। महानगरले कुल खर्चमध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ केरो ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासन तथा अन्तरसम्बन्धी क्षेत्र तर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालय तर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ।

विराटनगर महानगरले आगामी आर्थिक वर्षका लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ। महानगरले आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगततर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ। कार्यालय सञ्चालनतर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ। प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार,आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख,सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ। 

भरतपुर महानगरले आर्थिक वर्ष २०७८÷७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरिएको छ। यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्डबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ३ करोड रहने महानगरपालिकाको अनुमान छ। अन्तरसरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तरसरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ।

ललितपुर महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन्। नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन्। ललितपुरको नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेस भएको थियो। मेयर चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको भन्दै एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले असन्तुष्टि जनाएका थिए।