-राजु श्री
कोरिया । डेढ वर्षदेखि बुलिश ट्रेण्डमा रहेको नेपाली शेयर बजार पछिल्लो तीन हप्तादेखि दैनिक रुपमा डरलाग्दो गरी घटिरहेको छ । नेप्सेमा आएको यो भारि गिरावटसँगै देशबिदेशमा रहेर लगानी गर्ने साना तथा मझौला लगानीकर्ताहरुले अर्बौ रुपैयाँ गुमाइसकेका छन् भने समग्र बजारको पुँजीकरणमा पनि निकै ठूलो संकुचन आइसकेको छ ।
बिश्वको कुनै पनि देशको पुँजी बजारलाइ उक्त देशको अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने गरिन्छ । मुलुकको अर्थतन्त्रको बिकास कुन गतिमा अघि बढेको छ भन्ने कुरा उक्त देशको शेयर बजारको सूचकाङ्कले जनाउने गर्दछ । बजारबाट पुँजी परिचालन गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक पहुँचलाई बलियो बनाउनसक्ने माध्यम भएकोले यसलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा समेत हेरिन्छ ।
झन्डै २७ वर्ष अगाडिबाट सुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ । पछिल्लो समयमा प्राबिधिक रुपमा केही सहजता भए पनि बजारले आफ्नो गति र आकार भने अझै लिन सकेको छैन । धितोपत्र बजार शुरु भएको समयदेखि नै देखिएको राजनीतिक अस्थिरता र हरेक पटक विभिन्न बाहानामा हुने प्रहारले यसको भबिष्य नै अन्योलमा रहेको देखिन्छ । छिमेकी मुलुक भारतको नेशनल स्टक एक्सचेञ्ज नेपाल स्टक एक्सचेञ्ज भन्दा झन्डै एक दशक कान्छो हो । तर, आज भारतको बजार इण्डेक्स धेरै माथि पुगिसकेको छ, त्यसको तुलनामा नेपालको बजार इण्डेक्स अझै पनि कमजोर अवस्थामा छ ।
बजार किन यसरी घट्दैछ ?
नेप्से २०६८ साल असारमा सर्बाधिक न्यून बिन्दु २९२ पुगेको थियो भने २०७३ साल श्रावण १२ गते १८८१ बिन्दु चुमेर बियरिस ट्रेन्डमा फर्केको थियो । पछिल्लो समय कोरोना भाइरसको त्रास र लकडाउन सँगै उकालो लाग्न थालेको नेप्से गत महिना मात्र ३२ सयभन्दा माथि पुगेर अलटाइम हाईको रेकर्ड बनाएको थियो । त्यसपछि भने करेक्सन सुरु भएकोमा यो क्रम अझै पनि जारी नै देखिन्छ ।
अर्थतन्त्रको सामान्य सिद्धान्त अनुसार कुनै पनि बस्तुको माग बढ्दा मूल्य बढ्छ र आपूर्ति बढ्दा बस्तुको मूल्य घट्छ । तर, नेपालको सेयर बजारले यो सिद्धान्तले मात्र चलेको देखिन्न ।
संसारका धेरै विकसित देशले सेयर बजारलाई अत्यन्त संवेदनशील क्षेत्र मान्छन् र यसलाई त्यति चलाउन चाहदैनन् । तर नेपालमा भने यो वा त्यो बाहानामा सबैभन्दा बढी मार खाने क्षेत्र नै यही रहेको छ । यसलाई जति धेरै गिजोल्न सक्यो त्यति नै माथिल्लो निकायलाई फाइदा हुने हुनाले यसको टाउकोमा सधै प्रहार भइरहन्छ, भइरहेको छ । अझ नेपालमा त पूँजी र मुद्रा बजारका नियामक निकायहरु नै बजारलाई धराशायी बनाउन कम्मर कसेर लागिपरेका देखिन्छन् ।
पछिल्लो समय नियामक निकायका प्रतिनिधि, संगठित ठूला लगानीकर्ता, समाजिक सञ्जालका फोरमहरु, स्वघोषित बजार विश्लेषक, पेड गरिएका अनलाइनपत्रिका जस्ता पक्षहरुको मिलेमतोमा बजार घटाउन मद्धत भएको देखिन्छ । प्रत्यक्ष रुपमा यसको चपेटामा साना र नयाँ लगानीकर्ता परेका छन् ।
अब के हुनसक्छ ?
शेयर बजार अत्यन्तै जोखिमयुक्त क्षेत्र हो । बिश्वको कुनै पनि बजार जोखिममुक्त हुनै सक्दैन । अझ नेपाली शेयर बजार त झनै जोखिमयुक्त छ । यहाँ कहिलेकाहीँ हल्लाकै भरमा पनि बजारले बुलिश र बियरिश ट्रेन्ड समातिरहेको हुन्छ । यस्तो अबस्थामा सचेत हुने भनेको आफू नै हो । तर लगानीकर्ताको पुँजीलाई संरक्षण गर्ने जिम्मेवारी चाहिँ राज्यको पनि हो ।
तर, बिडम्बना राज्यलाइ खर्बौ कर तिरेर योगदान गर्ने यो क्षेत्रलाई उपहास गरिएको पाइन्छ । बजार सधै बढ्नै पर्छ भन्ने कहिल्यै हुँदैन । प्राकृतिक रुपमा हुने घटबढलाई बजारको सौन्दर्यको रूपमा हेरिने गरिन्छ ।
पछिल्लो समयमा नियोजित रुपमा घटाइएको बजारबाट गरिब जनताको खर्बौ रुपैया गुमिसक्दा पनि सम्बन्धित निकायले कुनै कदम चाल्न नसक्नु भनेको अत्यन्तै दुःखद पक्ष हो । मिलेमतोमा बजार क्र्यास बनाएर साना तथा मझौला लगानीकर्तालाई सडकमा पर्याउने योजना बन्दै गरेको भनेर अर्थमन्त्रीप्रति पनि आक्रोश पोखिने गरेको छ । अन्य समकक्षी नेताको तुलनामा केही आशा गरिएका अर्थमन्त्री चूप बस्नु भनेको 'भाडमा जाओस् ' भने जस्तै हो, लगानीकर्ताले यही रुपमा बुझेका छन् ।
के भन्छन् कोरियाका लगानीकर्ता ?
आज मात्र यो पंक्तिकारसँग एक लगानीकर्ताले ५ बर्ष कोरियामा काम गरेर कमाएको सबै गुमेको पीडा सुनाए । समाजिक सञ्जालका फोरम र ग्रुपहरुमा यस्ता गुनासा सुनिनसक्नु छ । कारोबारका निमित्त मध्यस्थकर्ताको रुपमा रहने ब्रोकरहरुका अनुसार पछिल्लो समय जापान र कोरियाबाट अत्यधिक मात्रामा बजारमा लगानी भित्रिएको छ।
प्रविधिले गराएको सहजतासँगै कोरियाबाट दैनिक रुपमा दोश्रो बजारमा लगानी गर्ने नेपालीहरुको संख्या समेत ठूलो रहेको छ ।
कोरियाको राजधानी सौलबाट निकै टाढा रहेको एउटा च्याउ कम्पनीमा काम गर्ने सिन्धुपाल्चोककी एक युवती पनि कोरियाको एक बर्षको कमाइ गुमेको भन्दै अत्यन्तै चिन्तित थिइन् । सम्पत्ति गुमेको पीडा त छँदैछ रेमिट्यान्सको कर र मार्केटको कर गरेर राज्यलार्इ दोहोरो कर बुझाउँदा समेत सम्बन्धित निकाय मौनता साधेर बस्न मिल्छ ? उनी आक्रोश पोख्छिन ।
के सधै यस्तै हुन्छ ?
विश्व शेयर बजारको सुन्दर पक्ष भनेकै बजार घटेर एउटा बिन्दुमा पुगेपछि बढ्छ । बढेर एउटा बिन्दुमा पुगेपछि पुनः घट्छ । यो विश्व बजारको बिशेषता नै हो । अझ यसलाइ यसरी बुझौ, न्यूटनको चालसम्बन्धी तेश्रो सिद्धान्तअनुसार बललाई जमिनमा जति पछार्यो त्यति नै माथि उफ्रिन्छ । बजार पनि जति घट्यो त्यति नै बढ्छ । घट्दो बजारमा आफूसँग भएका कित्ताहरु सुरक्षित राख्नु नै बुद्धिमानी हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago