काठमाण्डौ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि आज वैशाख १२ गते साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समयावधि तोकिएको थियो। उम्मेदवारी दर्ताको निर्धारित समय सकिएको छ। 

देशका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच ठूलो रस्साकस्सी हुने देखिएको छ। 

काठमाण्डौ महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन्। एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन्।

उता ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन्। ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य ‘आस्था’ले उम्मेदवारी दिएका छन्।

निकै चर्चामा रहेको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन्। भरतपुरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन्। भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ। 

यसैगरी विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन्। विराटनगरमा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवार बनेका छन्। 

वीरगन्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन्। वीरगञ्ज महानगरमा एमाले र लोसपा नेपालले तालमेल गरेका छन्। जसअनुसार मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवार बनेका छन्। 

पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटलाई उठाइएको छ। पोखरामा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन्।