काठमाण्डौ । ६ ओटा अलग-अलग लघुवित्त कम्पनीले हालसम्ममा लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ती कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।  

हालसम्ममा स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, युनिक नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका लघुवित्त कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्तले गरेको छ ।

कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त कम्पनीले पहिलो पटक सेयरधनीलाई लाभांश वितरण गरेको हो । यसैगरी धौलागिरी लघुवित्तले गत आवको मुनाफाबाट सेयरनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसैगरी, सपोर्ट लघुवित्तले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै स्वावलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको थियो । 

त्यसैगरी, एनआईसी एशिया लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै आरएसडिसी लघुवित्तले गत आवको नाफाबाट ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अन्य लघुवित्त कम्पनीले पनि मंसिर महिनामा लाभांश घोषणा गर्ने तयारी गरेका छन् ।नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा हाल ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।