काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ११.७३ अंकले बढेर १ हजार ८५२.७७ को विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५८ अंकले घटेर ३५२.२८ को विन्दुमा पुगेको छ। 
आज नेप्सेमा सूचीकृतमध्ये २९९ कम्पनीका ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आजको बजारको विषयमा बजार जानकार केशब कोइराला(काका) भन्छन्, ‘लगातार ७ दिन बजार घटेको कारण आज बजार फर्किएको हो ।लगानीकर्तालाई १ हजार ८०० भन्दा तल जाँदैन भन्ने विश्वास रहेको छ ।यसअघि बजार ओभर सप्लाईका कारण घटेको थियो । नियामक निकायले यसतर्फ सम्बोधन गरेमा लगानीकर्ताको विश्वास बढ्ने र बजार पनि लयमा फर्किन्छ ।’

अर्का बजार जानकार अर्जुन थापाका अनुसार अब पुस मसान्तमा ब्याजदर घट्ने आकलनका कारण पनि  बजार बढेको हो ।

उनी भन्छन्, ‘ब्याजदर घट्दै गएकाले अब बजार बढ्ने नै हो । बजारमा नकारात्मक कुराहरु केहि पनि छैन ।तरलता उच्च रहेको छ । र बजार विस्तारै सम्हालिएर अगाडि बढ्छ ।’  

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूह मध्ये व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाएको छ ।
 

यो दिन सबैभन्दा बढी निर्जीवन बीमा समूह २.११ प्रतिशतले बढेको छ । यसैगरी, हाइड्रोपावर समूह १.०३ प्रतिशतले बढेको छ । लगानी समूह भने ०.८३ प्रतिशतले बढेको  छ।  यसैगरी वीत समूह ०.६९ प्रतिशतले बढेको छ  ।यसैगरी, यो दिन होटल तथा टुरिजम  समूह ०.६५ प्रतिशतले बढेको छ ।त्यस्तै व्यापार समूह ०.५० प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा नेपाल रि-इन्स्योरेन्सको संस्थापकतर्फको सेयर बिक्री भएको  छ। कम्पनीको ८६ करोड ८३ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ। 
सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ५४ लाखभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै सोनापुर मिनरल्स एन्ड आयलको ९ करोड २७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 यसैगरी माउन्टेन इनर्जि पावरको ८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  त्रिशुली जलविद्युत कम्पनीको यो दिन दोस्रो बजारमा पहिलो कारोबार भएको हो ।

त्यस्तै सीवाईसी लघुवित्त वित्तीय संस्थाकोे सेयरमूल्य ९.९१ प्रतिशतले बढेको छ । यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.८१ प्रतिशतले  घटेको छ ।

त्यसैगरी, यो दिन मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४१ प्रतिशतले ओरालो लागेको छ ।यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाको  सेयरमूल्य ५.१९ प्रतिशतले ओरालो लागेको छ ।